जेन्जी पुस्तामा निकै लोकप्रिय रियालिटी शो नेपहपको श्रीपेचसँग एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले शुक्रबार साझेदारी गरेको हो ।
काठमाडौँ — नेपाल कबड्डी लिग (एनकेएल) मा स्वदेशी तथा विदेशी खेलाडीको रोमाञ्चक प्रतिस्पर्धासँगै र्यापरहरूको सिर्जना पनि देख्न–सुन्न पाइने भएको छ । त्यसका लागि एनकेएलको ‘रियालिटी शो पार्टनर’ बनेको छ नेपहपको श्रीपेच ।
जेन्जी पुस्तामा निकै लोकप्रिय रियालिटी शो नेपहपको श्रीपेचसँग एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले शुक्रबार साझेदारी गरेको हो । एस्ट्रोनिक्सका सीईओ विकास अग्रवाल र नेपहपको श्रीपेचका संस्थापक सुदीप पोखरेलले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । एनकेएल सिजन २ र नेपलहपको श्रीपेच सिजन ३ को लागि सहकार्यमा सम्झौता भएको हो ।
सीईओ अग्रवालले एनकेएल र नेपहपको सहकार्यले नेपालमा एउटा नयाँ युगको सुरुआत गर्दै स्पोर्ट्स र इन्टरटेनमेन्टलाई हेर्ने तरिका नै परिवर्तन गर्ने बताए ।
नेपहपका पोखरेलले रियालिटी शो र कबड्डी लिगबीच पहिलोपल्ट सहकार्यको सम्झौता भएको बताउँदै र्यापरहरूले एनकेएलमा एक्सपोजर पाउने बताए । उनले कबड्डीसँगै हिपहप म्युजिकको सहयात्राको थालनी भएको सुनाए ।
एनकेएल सिजन दुई जेठ २२ देखि दशरथ रंगशालास्थित राखेप कभर्डहल हुनेछ । त्यसमा ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सम्झौता अनुसार नेपहपको श्रीपेचका र्यापरले प्रतिस्पर्धाको आधारमा एनकेएलका ६ टिमका लागि फरक एन्थम सिर्जना गर्नेछन् । प्रत्येक विजेताले ५० हजार पाउने छन् । नेपहपको श्रीपेचले शीर्ष ३० को छनोटपछि दुई एपिसोड एनकेएल थिममा तयार गर्नेछ ।
कार्यक्रममा नेपहपको श्रीपेचका निर्णायकद्वय भियोमा र मानस घले उपस्थित थिए । उनीहरूले र्याप र एनकेएलको सहकार्यले खेल र संगीत दुवैलाई फाइदा पुग्ने बताए ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले विश्वकै उत्कृष्ट खेलाडीहरू एनकेएल सिजन २ खेल्न नेपाल आउन लालयित रहेको बताएका छन् । १६ देशका १ सय बढी बिदेशी खेलाडीले नाम दर्ता गरेका छन् । प्लेयर्स ड्राफ्टबाट टिमहरूले खेलाडी छनोट गर्नेछन् । एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनर कान्तिपुर म्याक्स टीभी एचडी रहेको छ ।
सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्दै छन् ।
