बुटवल खुल्ला लन टेनिसः सुनीरा बनिन् च्याम्पियन

पुरुष सिंगल्सको उपाधिका लागि आयुष्मान घले र प्रनव मानन्धरबीच शुक्रबार फाइनल प्रतिष्पर्धा हुँदै छ ।

चैत्र २०, २०८२

घनश्याम गौतम

Butwal Open Lawn Tennis: Sunira becomes champion

What you should know

बुटवल — डिफेन्डिङ च्याम्पियन सुनीरा थापाले बुटवलमा जारी आठौं बुटवल खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि जितेकी छन् । पुरुष सिंगल्सको उपाधिका लागि आयुष्मान घले र प्रनव मानन्धरबीच शुक्रबार फाइनल प्रतिष्पर्धा हुँदै छ ।

बिहीबार डिफेन्डिङ च्याम्पियन काठमाडौंकी सुनीरा थापाले उपाधि रक्षा गर्ने क्रममा फाइनलमा प्रकृति श्रेष्ठलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरेकी हुन् । थापाले सातौं संस्करणमा पहिलो पटक सहभागीता जनाउँदै अभिलाषा विष्टलाई फाइनलमा पराजित गर्दै पहिलो पटक उपाधि जितेकी थिइन् ।

बुटवल टेनिस कोर्टमा बिहीबार भएको फाइनलमा पहिलो सेटबाटै थापाले खेललाई आफ्नो कब्जामा राखेकी थिइन् । उत्कृष्ट प्रदर्शन गर्दै थापाले लिएको अग्रतालाई कायमै राखेर पहिलो सेट ६–२ को स्कोरमा जित निकालेकी थिइन् । दोस्रो सेटलाई पनि थापाले आफ्नो स्प्रिट कायम राख्दै ६–२ कै स्कोरमा श्रेष्ठलाई हराउँदै च्याम्पियन बनिन् । 

उपाधि विजेता थापाले नगद ६० हजार प्राप्त गरेकी छन् । उपविजेता श्रेष्ठले नगद ३० हजार प्राप्त गरिन् । विजेता तथा उपविजेता खेलाडीलाई नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, रुपन्देही टेनिस संघका अध्यक्ष विष्णुप्रसाद चापागाई, प्रतियोगिता कोर्डिनेटर मछिन्द्र थापालगायतले पुरस्कार तथा कप प्रदान गरेका थिए । 

बिहीबार नै भएको पुरुष सिंगल्सतर्फको पहिलो सेमीफाइनलमा आयुष्मान घलेले निशान श्रेष्ठलाई ६–१, ७–५ तथा दोस्रो सेमीफाईनलमा प्रनव मानन्धरले राजवीर प्रधानलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेका हुन् । प्रतियोगिताको सातौं संस्करणको फाइनलमा प्रदीप खड्का र रितिक राना भिडेकोमा खड्काले उपाधि जितेका थिए । आठौं संस्करणमा यी दुबै खेलाडी सहभागी नभएपछि प्रतियोगिताले नयाँ विजेता पाउने भएको छ ।

यसैगरी ३५ वर्ष सिंगल्सतर्फको फाइनलमा कमलबहादुर भण्डारी र अनिस साई भिड्ने भएका छन् । पहिलो सेमीफाइनलमा अनिल साईले विकास खड्कालाई ६–४ र ६–४ तथा दोस्रो सेमीफाइनलमा कमलबहादुर भण्डारीले दावा सोनाम शेर्पालाई ६–१ र ७–६ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । प्रतियोगितामा समावेश गरिएका ११ विधामध्ये ९ वटाको छिनोफानो बिहीबार भएको छ । २ वटाको शुक्रबार भइरहेकाे संघले जनाएको छ ।

४५ प्लस सिंगल्सतर्फ कमल भण्डारी विजेता बनेका छन् । भण्डारीले रोहित सुनुवारलाई ६–१ र ६–१ को सेटमा पराजित गरेका हुन् । प्रतियोगिताको ५५ प्लस सिंगल्सको उपाधि चन्द्र शाहीले चुमेका छन् । उनले फाइनलमा मच्छिन्द्र थापालाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरेका हुन । त्यसै ६५ प्लस सिंगल्समा मनोज राणा विजेता बनेका छन् । उनी पदम गुरुङलाई फाईनलमा ४–०, ४–२ को सेटमा पराजित गर्दै विजेता बनेका हुन् । त्यस्तै प्रतियोगिताको मेन्स डबल्सको उपाधि प्रनव खनाल र आयुषमान घलेको जोडीले जितेको छ । फाइनलमा प्रनव मानन्धर र निहान जिटीलाई ६–४, २–६ र १०–८ को सेटमा पराजित गर्दै खनाल र घलेको जोडीले उपाधि चुमेका हुन् ।

त्यस्तै ३५ प्लस डबल्सको विजेता विकास खड्का र सञ्जय श्रेष्ठको जोडी बनेको छ । खड्का र श्रेष्ठको जोडीले नवीन श्रेष्ठ र राज गुरुङको जोडीलाई ६–१, ६–२ को सेटमा पराजित गरेको हो । ४५ प्लस डबल्सतर्फ धर्म लामिछाने र राज गुरुङको जोडी विजेता बनेको छ । लामिछाने र गुरुङको जोडीले मनु टी/पदमको जोडीलाई ७–६, ६–२ को सेटमा पराजित गरेको थियो । डबल्सकै ५५ प्लसमा चन्द्र शाही/देवेन्द्र श्रेष्ठको जोडी विजेता बन्यो । शाही र श्रेष्ठको जोडीले धर्म लामिछाने/मनु टीको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गरेको हो ।

शुक्रबार समापन भइरहेको प्रतियोगितामा पुरुष र महिला एकल तथा डबल्स गरी कुल ११ विधामा प्रतिष्पर्धा गराइएको थियो । जसमा एकलतर्फ पुरुष/महिला खुल्ला तथा उमेर समूहमा पुरुष ३५, ४५, ५५ र ६५ वर्ष गरी ६ विधा समावेश छन् । डबल्सतर्फ महिला २ र पुरुष डबल्स ३५, ४५ र ५५ वर्ष माथि गरी ५ विधामा प्रतिस्पर्धा भएको छ । पुरुष तथा महिला एकल विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् । उमेर समूहअन्तर्गत पुरुष ३५, ४५, ५५ र ६५ वर्ष माथिको विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने क्रमशः २० हजार, २० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully