रूपन्देही सुपरलिग सुरु, बुद्ध क्रिकेट क्लबको विजयी सुरुवात

रूपन्देही क्रिकेट संघको आयोजनामा मंगलबारदेखि सुरु भएको लिगको यो २४औं संस्करण हो ।

चैत्र १७, २०८२

माधव ढुंगाना

Rupandehi Super League begins, Buddha Cricket Club starts with a win

भैरहवा — जिल्लामा रूपन्देही सुपरलिग–२०८२ सुरु भएको छ । रूपन्देही क्रिकेट संघको आयोजनामा मंगलबारदेखि सुरु भएको लिगको यो २४औं संस्करण हो । प्रतियोगिताअन्तर्गत ‘बी’ डिभिजनका खेलहरू सुरु भएका हुन् । 

प्रतिनिधिसभा सदस्य पुनमकुमारी अग्रवालले प्रतियोगिताको उद्घाटन गरेर सुरु भएको खेलमा बुद्ध क्रिकेट क्लब विजयी भएको छ। बुद्धले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपथ्य ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रन मात्रै बनायो । उसका लागि प्रवेश सारुले ६१ र रन्जित खड्काले १२ रन बनाए । बलिङमा बुद्धका अनुज चौहानले ४, सुरज गुरुङ र नितेश पटेलले २–२ तथा प्रवेज अन्सारीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुद्ध २३ ओभरमा ५ विकेट गुमाएर १ सय १२ रन बनाउँदै सहजै विजयी भयो । उसको जितमा हरिकेश मुराउले अविजित २४, अनुज चौहान र अजय त्रिपाठीले २१–२१, प्रवेज अन्सारीले २० तथा मिथिलेश यादवले १४ रनको योगदान गरे । 

बलिङमा नेपथ्य ज्ञानोदयका रन्जित खड्का र जय गोदारले २–२ तथा प्रवेश सारुले १ विकेट लिए । खेलमा अनुज चौहान प्लेयर अफ द म्याच भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully