खजुरालाई चिनाउन गोल्डकप फुटबल

खजुराले पहिलोपटक आयोजना गर्न लागेको गोल्डकप फुटबल प्रतियोगितालाई सफल बनाउन खजुराबासी एकजुट । चैत ३० गतेबाट खेल सुरु हुनेछ ।

चैत्र १७, २०८२

रुपा गहतराज

Gold Cup Football to introduce Khajura

What you should know

नेपालगन्ज — बाँकेको खजुरालाई चिनाउन खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको खजुरामा अन्तर्राष्ट्रिय टिमसहित खजुरा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ  ।

न्यु डाँफे स्पोर्ट्स क्लबको आयोजना र खजुरा गाउँपालिकाको संरक्षकत्वमा प्रथम खजुरा गोल्डकप हुने भएको हो । चैत ३० देखि हुने गोल्डकपको तयारी तीव्र पारिएको आयोजक क्लबले जनाएको छ । खजुराले पहिलो पटक आयोजना गर्न लागेका गोल्डकपलाई सफल बनाउन खजुराबासी एकजुट भएका छन् ।

गोल्डकपको तयारी सम्बन्धमा तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । खजुरा गोल्डकपमा दुई विदेशीसहित ८ टिमले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष बालाराम खत्रीले बताए ।

उनका अनुसार गोल्डकपमा संकटा क्लब काठमाडौ, एपीएफ क्लब, चर्च ब्वाईज क्लब, नाइजेरियन जोन क्लब, लखनउ सहारा क्लब भारत, गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल, काँक्रेबिहार क्लब सुर्खेत र आयोजक न्यु डाँफे स्पोर्ट्स क्लब खजुराको सहभागिता रहने छ ।

विजेताले ७ लाख र दोस्रोले ४ लाखसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष खत्रीले बताए । सर्वोकृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई नगदबाट पुरस्कृत गरिनेछ । क्लबका अध्यक्ष खत्रीले गोल्डकप सम्पन्न गर्न ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताए ।

खजुरा गाउँपालिकाबाट १७ लाख, अमेरिका बस्दै आएका खजुरा ‘डी’गाउँका स्थानीय समाजसेवी लिलबहादुर थापाबाट विजेताको पुरस्कार ७ लाख, चित्लाङ एफसीका सञ्चालक अंकित थापाबाट ७ लाख स्रोत सुनिश्चित भएको र बाँकी आयोजकको आन्तरिक स्रोतबाट जुटाइने अध्यक्ष खत्रीले बताए । गोल्डकपमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा छ ।

पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले खेलकुदको माध्यमबाट खजुरालाई देश विदेशमा चिनाउन योगदान पुग्ने बताए । खेल पर्यटनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले खजुरा आउने देश विदेशका खेलाडीहरूलाई बर्दियाको ठाकुरद्वार, बाँके निकुञ्ज जस्ता पर्यटकीय स्थलमा घुमाउने प्रबन्ध मिलाइने जानकारी दिए ।

खेलकुद विकास परिषद्का सदस्यसचिव छवि विष्टले फुटबलप्रेमीको सपना खजुरामा गोल्डकप गर्ने भन्ने रहेको र उक्त सपना छिटै पूरा हुनेमा विश्वस्त रहेको बताए ।

खजुरा गाउँपालिका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले युवालाई कुलतमा जान नदिन खेलकुदको प्रमुख भूमिका रहने हुँदा गोल्डकपले फुटबलको विकाससँगै युवामा खेलप्रति अभिरुचि जगाउने उल्लेख गरे ।

प्रतियोगिता खजुरास्थित मिनी रंगशाला ‘डी’गाउँस्थित फुटबल मैदानमा हुनेछ । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully