प्रतियोगिता काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
काठमाडौँ — दोलखा जिल्ला क्रिकेट संघले चैत २९ गतेदेखि गौरीशंकर सुपर लिग टी–२० क्रिकेट प्रतियोगिता गर्ने भएको छ । वैशाख ९ सम्म चल्ने प्रतियोगिता काठमाडौंको तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा १८ टिमको सहभागिता रहने गौरीशंकर क्रिकेट एकेडमीका अध्यक्ष विष्णुकुमार बुढाथोकीले बताए । आयोजकले मंगलबार प्रेसमिटमा युवा प्रतिभालाई आफ्ना खेल कौशलता प्रदर्शन गर्ने अवसर दिलाउनका लागि प्रतियोगिता गरिएको जनाएको छ ।
प्रतियोगिताको कुल बजेट ९ लाख रुपैयाँ रहेकामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँबराबरको क्रिकेट किट प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफी दिइनेछ । शतक बनाएमा २ हजार १ सय र ६ विकेट लिएमा २ हजार १ सय प्रदान गरिनेछ ।
प्रतिस्पर्धी टिममा केडीसीए ११, ग्रेट हिमालय क्रिकेट एकेडेमी, सीईसी भक्तपुर, सीईसी काठमाडौं, बालुवाटार क्रिकेट क्लब, हिमलाय स्पोर्ट्स म्यानजमेन्ट, वान डे क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, गौरीशंकर क्रिकेट एकेडेमी, नेक्सस एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, एन्जल्स स्पोर्ट्स, किंग्स, रेडियन्ट क्रिकेट एकेडेम, जोरपाटी क्रिकेट क्लब, काठमाडौं क्रिकेट एकेडेमी, फियरलेस फाल्कोन क्लब र क्षमादेवी वारियर्स रहेका छन् ।
सहभागी टिमलाई ६ समूहमा विभाजन गरेर खेलाइने प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले बताए । उनका अनुसार सुरुमा लिगको आधारमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक समूहको विजेता नकआउट चरणमा पुग्नेछन् ।
