बास्केटबल लिगमा आर्मी र हाउन्ड्सको जित कायमै

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ९६–७९ स्कोरले हरायो । आर्मीले दुई क्वाटरमा बनाएको अग्रता नै जित आधार बन्यो ।

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Army and Hounds continue to win in basketball league

काठमाडौँ — त्रिभुवन आर्मी क्लब र केभीसी हाउन्ड्सले मंगलबार हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) मा जित पाएका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ९६–७९ स्कोरले हरायो । आर्मीले दुई क्वाटरमा बनाएको अग्रता नै जित आधार बन्यो । आर्मीले पहिलोमा ३१–१६ र दोस्रो क्वाटरमा २७–१३ ले अग्रता बनाएर हाफटाइमसम्म ५८–२९ स्कोर बनाएको थियो ।

तेस्रो क्वाटर २३–२३ को बराबरीमा टुंगियो भने चौथो क्वाटरमा कीर्तिपुरले २७–१५ स्कोरले आफ्नो पक्षमा पारे पनि आर्मीलाई जितबाट रोक्न सकेन । आर्मीका सिमोन गुरुङले सर्वाधिक २० स्कोर गरे ।

यता कीर्तिपुरका लक्की महर्जनले एक्लैले ४३ स्कोर गरेका थिए । लिगमा उनी एकै खेलमा सर्वाधिक स्कोर गर्ने खेलाडी बने । उनी प्लेयर अफ द म्याच घोषित भए ।

आर्मी ११ खेलमा दसौं जितसहित २१ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । आर्मीसहित गोल्डेनगेट र टाइम्सको समान २१ अंक छ । गोल्डेनगेट शीर्षस्थानमा छ ।

नवौं हार भोगेको कीर्तिपुर ११ खेलबाट १३ अंक बटुल्दै पाँचौं स्थानमा छ ।

अर्को खेलमा केभीसी हाउन्ड्सले रोयल स्पोर्ट्सलाई  १००–६९ स्कोरको फराकिलो अन्तरले हरायो । हाउन्ड्सले २८–२३ ले पछि परेको स्थितिमा पुनरागमन गर्दै त्यसपछि लगातार तीन क्वाटरमा अग्रता बनायो । हाउन्ड्सले दोस्रो २०–८, तेस्रो २८–१९ र चौथो क्वाटर २९–१३ स्कोरले आफ्नो पक्षमा पारेको हो ।

हाउन्ड्सको लगातार आठौं जित हो । सुरुका तीन खेल हारेको हाउन्ड्सले ११ खेलबाट १९ अंक जोडेको छ । टोली चौथो स्थानमा छ । ११ खेलमा रोयलको दसौं हार हो । हाउन्ड्सका विजय बुर्जाले सर्वाधिक २० स्कोर गरेका थिए । सोही टिमका तोमर हर्षवर्द्धन प्लेयर अफ द म्याच भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

कान्तिपुर

Link copied successfully