पाल्पाको रामपुरमा फुटबल मैदान स्तरोन्नति सुरु

किसानबारी खेल मैदानको स्तरोन्नतिका लागि ११ करोड ६२ लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । तत्कालका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा बहुवर्षीय आयोजनाअन्तर्गत २ करोड विनियोजन गरेको छ।

चैत्र १६, २०८२

माधव अर्याल

Upgradation of football field begins in Rampur, Palpa

What you should know

पाल्पा — पाल्पाको रामपुरमा फुटबल खेलमैदान स्तरोन्नति सुरु भएको छ । रामपुर नगरपालिका–७, किसानबारीस्थित ‘ज्योतिपुञ्ज खेल मैदान’ स्तरोन्नतिको ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुन्दर राना र रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शिलान्यास गरे । 

रामपुर नगरपालिकाबाट विनियोजित बजेटमार्फत खेल मैदान स्तरोन्नति सुरु भएको ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष रानाले बताए । रामपुर नगरपालिकाले चालु आर्थिक वर्षमा खेल मैदान स्तरोन्नतिका लागि बहुवर्षीय आयोजनाअन्तर्गत २ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ५० लाख बराबरको बजेट व्यवस्थापन भएको नगर प्रमुख थापाले बताए । पहिलो चरणमा स्तरोन्नति कार्यअन्तर्गत ५० लाख बराबरको काम हुने उनले बताए । 

किसानबारी खेल मैदानको स्तरोन्नतिका लागि ११ करोड ६२ लाखको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । क्रमागत रूपमा आगामी वर्ष बजेट निरन्तर विनियोजन गर्दै जाने नगर प्रमुख थापाले बताए । किसानबारीमा फुटबल मैदानका साथै बुल्टार खेल मैदानलाई क्रिकेट हबका रूपमा विकास गर्ने योजना रहेको उनले बताए । किसानबारी फुटबल मैदानमा यस वर्ष पर्खालसहितको घेराबार निर्माण, खेलमैदान सम्याउने लगायतका काम हुने ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष रानाले बताए । 

‘किसानबारी खेल मैदानलाई फुटबलको ‘हब’ का रूपमा विकास गर्न नगरपालिकाले देखाएको सक्रियता सम्मानजनक छ,’ उनले भने, ‘यस वर्ष विनियोजित बजेटमार्फत हुने काम समयमै सकिनेछ ।’ रामपुर नगरभित्र रहेका खेलमैदानलाई फरक–फरक विधाका खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गरिन लागेको रामपुर नगरपालिकाकी नगर उपप्रमुख बालकुमारी थापाले बताइन् । ५० लाख लागत अनुमानको काम सक्षम निर्माण सेवा प्रालिले भ्याटसहित ३६ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully