दिक्तेल रंगशाला निर्माणको म्याद थपिएको थपियै

डिपिआर परिवर्तन र जग्गा अभावका कारण रंगशाला निर्माणमा ढिलाइ हुँदा खेल गतिविधि प्रभावित भएका छन्।

चैत्र १६, २०८२

डम्बरसिं राई

Diktel Stadium construction deadline extended

What you should know

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरफालिका–१ माटिकोरेमा निर्माणाधीन दिक्तेल फुटबल रंगशालाको काम अलपत्र परेको छ । उक्त रंगशाला बेलामा नसकिँदा खेलकुद गतिविधिमा असर परेको छ । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको २ करोड ९६ लाख ४१ हजार रूपैयाँको लागतमा २०८१ वैसाख २८ सम्म सक्नेगरी २०७९ वैसाख २९ मा आशीर्वाद–मोहन एण्ड गाउँबेंसी–इन्द्रलक्ष्मी कन्ट्रक्सन जेभीले ठेक्का सम्झौता गरेको थियो ।

तर काम नसकिएपछि गत चैत ८ को कार्यपालिका बैठकले २०८३ असारसम्मका लागि म्याद थप गरिएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए । उक्त योजनाको मोबिलाइजेसन पेश्कीबापत २९ लाख ६४ हजार लिएर काम थालेको थियो । 

डिपिआर परिवर्तन, डिपिआर अनुसारको जग्गा उपलब्ध नहुनुलगायतका कारण बेलामा काम गर्न नसकिएको निर्माणमा संलग्न जोसफ रिजालले बताएका छन् । उनका अनुसार सुरुमा सेभेन साइजको डिपिआर भएको र त्यसपछि इलेभेन साइजको डिपिआर बनाइएको थियो । पछिल्लो डिपिआर अनुसारको जग्गा उपलब्ध नहुँदा काममा ढिलाइ भएको रिजालको दाबी छ । ‘सुरुमा सेभेन साइजको डिपिआर थियो, त्यसपछि इलेभेन साइजको डिपिआर बनाइयो, पछिल्लो डिपिआर अनुसारको जग्गा उपलब्ध नहुँदा काममा ढिलाइ भएको हो,’ रिजालले भने । 

नगरपालिकाले बेलामा जग्गा उपलब्ध गराउन नसक्दा काममा ढिलाइ भएको उल्लेख गर्दै अब भने जग्गा उपलब्ध भइसकेकाले पछिल्लो पटक थपिएको समयअवधिभित्र काम सम्पन्न हुनेमा आशावादी बनेको सूचना अधिकारी भट्टराईले सुनाए । 

खेल मैदान नहुँदा खेलाडीहरूलाई समस्या भएको खेलप्रेमीको गुनासो छ । जिल्ला सदरमुकाम दिक्तेलमै निर्माणाधीन रंगशाला अलपत्र परेकोप्रति चौतर्फी विरोध भएको छ । ‘निर्माणाधीन रंगशाला पनि अलपत्र पर्नु दुःखको विषय हो,’ जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले भने, ‘फेरि एक वर्षका लागि म्याद थपिएको छ, त्यसअवधिभित्र सक्न निर्माण व्यवसायीलाई अनुरोध गरिएको छ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully