रुपन्देही सुपरलिग क्रिकेट मंगलबारदेखि

प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ र उपविजेताले ५० हजार १ रुपैयाँ प्राप्त गर्ने छ ।

चैत्र १६, २०८२

माधव ढुंगाना

Rupandehi Super League Cricket from Tuesday

What you should know

भैरहवा — रुपन्देही सुपरलिग–२०८२ मंगलबारदेखि भैरहवामा हुने भएको छ । आयोजक संस्था रुपन्देही क्रिकेट संघले चैत १७ देखि ३० गतेसम्म ‘बी’ डिभिजनका खेलहरु संचालन हुने जानकारी दिएको हो । 

प्रतियोगिताका संयोजक प्रथम पराजुलीले रुपन्देही सुपरलिग–२०८२ मा कुल ३७ खेलमा रुपन्देहीका २० वटा क्लब तथा एकेडेमीहरु सहभागी हुने बताए । उनका अनुसार प्रधानमन्त्री कपको समापन पछि ‘ए’ डिभिजनका खेल सञ्चालन हुनेछन् । ‘बी’ डिभिजनका खेलपछि दुई टीम ‘ए’ डिभिजनमा बढुवा हुनेछन् । त्यसपछि ‘ए’ डिभिजनको टाइसिट प्रकाशन हुने छ । 

यो सुपरलिग २४औं संस्करण हो । प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ र उपविजेताले ५० हजार १ रुपैयाँ प्राप्त गर्ने छ । सिद्धार्थ क्रिकेट मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ । 

म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने छन् । 

प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघले प्रायोजन गरेका छन् ।

रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले सुपरलिग रुपन्देही क्रिकेटको मेरुदण्ड भएको जनाए । उनका अनुसार जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा लिगले महत्वपूर्ण योगदान दिएको छ ।

प्रतियोगितामा ‘ए’ डिझिजनका वेष्टर्न क्रिकेट क्लब, न्यू होराजन त्रिकेट क्लब, लुम्बिनी खुकुरी क्लब, तिलोत्तमा क्रिकेट क्लब, जेआर क्रिकेट क्लब, तिरुपति क्रिकेट क्लब, एमसीसी त्रिकेट क्लब र बुटवल राइनोज सहभागी हुनेछन् ।

‘बी’ डिभिजनका बुद्ध क्रिकेट क्लब, नेफथ्य ज्ञानोदय, देवदह क्रिकेट युनिट, शंकरनगर त्रिकेट क्लब, लुम्बिनी शाक्यन क्लब, बुटवल–११ क्रिकेट क्लब, सैनामैना त्रिकेट क्लब, गोलपार्क क्रिकेट क्लब, साई ग्लोबल एकेडेमी, प्रोफेसनल मास्टर्स–११, बुटवल युथ क्लब र स्टार क्रिकेट एकेडेमी सहभागी हुने छन् । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully