कालिका कप घले हार्भेस्टिङको पोल्टामा

सोमबार बागलुङ कालिका उद्यानमा भएको फाइनल खेलमा सिद्धार्थ चस्मा घरलाई पराजित गरी घलेले उपाधि जितेको हो ।

चैत्र १६, २०८२

प्रकाश बराल

Kalika Kap Ghale Harvesting in Polta

What you should know

बागलुङ — चैतेदसैंको अवसरमा सात दिनदेखि बागलुङमा जारी कालिका कप खुला पुरुष भलिबलको उपाधि घले हार्भेस्टिङ अष्ट्रेलियाले जितेको छ । सोमबार बागलुङ कालिका उद्यानमा भएको फाइनल खेलमा सिद्धार्थ चस्मा घरलाई पराजित गरी घलेले उपाधि जितेको हो ।

नेपाल पुलिस क्लबका खेलाडीको बाहुल्यता रहेको घले हार्भेस्टिङ अष्ट्रेलिया र गण्डकी प्रदेश भलिबल टिमको बाहुल्यता रहेको सिद्धार्थबीच भएको खेलमा उपाधिकालागि घलेले कडा संघर्ष गर्नुपरेको थियो । पहिलो खेलमा २६–२४ को अंकले जित निकालेको घलेले दोस्रो र तेस्रो खेलमा हार व्यहोर्‍यो । सिद्धार्थले दोस्रो खेलमा २५–२३, तेस्रो खेलमा २५–१९ को सेटमा जित निकाल्दा चौथो खेलमा भने घलेले २५–१६ मा खेल अगाडि बढायो ।

जितकालागि अन्तिम खेलमा प्रवेश गर्दा घलेले सिद्धार्थलाई १५–८ मै हरायो । खेल जितेर घलेले ३ लाख नगद पुरस्कार पायो । सिद्धार्थले २ लाख रुपैयाँमा चित्त बुझायो । आइतबार फाइनल खेल सुरु भए पनि वर्षातले रोकिएपछि सोमबार दिउँसो मात्रै संचालन भएको थियो ।

फाइनल प्रवेशकालागि घलेले गौंडाकोट युथ क्लबलाई शनिबार २५–११, २५–१६ र २५–१६ को सोझो सेट जितेको थियो । सिद्धार्थ चश्मा घरले भने आदित्य होल्डिङ तित्याङलाई २५–१९, २५–२३ र २५–१७ को सेटमा खेल जितेर फाइनल यात्रामा आइपुगेको थियो । खेलमा घले हार्भेष्टिङ अष्ट्रेलियाका पहल गहतराज सर्वोकृष्ठ खेलाडी घोषित भए ।

सिद्धार्थका सन्तोष विक र घलेकै बलराम गुरुङ उत्कृष्ठ भए । उत्कृष्ठ खेलाडीलाई जनही ५ हजार नगद दिइएको कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताए । डिफेन्डर तर्फ सिद्दार्थका राजन दर्लामी, राइजिङ प्लेयरमा घलेका रेसम विक, सर्भरमा घलेकै विष्णु बस्नेत, ब्लकरमा सिद्धार्थका हिमाल सुनारी र उत्कृष्ठ कोचमा घलेका मुकेश सेन्चुरी घोषित भएको खेल संयोजक किसोर छन्त्यालले जानकारी दिए।

खुला महिला भलिबल प्रतियोगिताको उपाधि इलाइट भलिबल एकेडेमी पोखराले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा इलाइटले शान्ता मावि पोखरालाई सोझो ३–० सेटमा पराजित गरेको हो ।

बागलुङ कालिका उद्यानमा भएको खेलमा इलाइटले २५–२३, २५–२२, २५–२३ को सेटमा खेल हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा शान्ता माविले परिणाम भने निकाल्न नसकेको हो । प्रथम भएर इलाइटले १ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ । दोस्रो भएर शान्ता माविले ५० हजार रुपैयाँमा चित्त बुझायो ।

चैतेदसैं मेलालाई उत्कृष्ठ बनाउन बागलुङ कालिका गुठी व्यवस्थापन समितिले हरेक वर्ष खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता राख्दै आएको छ । चैत ९ देखि संचालित चैतेदसैं मेला भने मंगलबारसम्म संचालन हुने आयोजकले जनाएको छ । मेलामा राष्ट्रिय कलाकारको पनि प्रस्तुति थियो ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully