नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार इन्दुको कप्तानीमा रुवान्डामा हुने आईसीसी वुमन्स च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।
काठमाडौँ — इन्दु बर्मा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानको रुपमा फर्किएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार इन्दुको कप्तानीमा रुवान्डामा हुने आईसीसी वुमन्स च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।
जनवरीमा काठमाडौंमा भएको वुमन्स टी–२० विश्वकप छनोटको स्कटल्यान्डसँगको खेलमा घाइते भएपछि इन्दु मैदान बाहिर रहेकी थिइन्, जसको कारण उनले फेब्रुअरीमा थाइल्यान्डको बैंककमा भएको वुमन्स एसिया कप राइजिङ स्टार्स गुमाएकी थिइन् ।
इन्दुको स्थानमा पुजाले बैंककमा नेपालको कप्तानी गरेकी थिइन् । क्यानले रुवान्डामा हुने प्रतियोगिताका लागि इन्दुलाई २९ सदस्यीय टोलीमा फिर्ता बोलाइएको थियो । इन्दुलाई बन्द प्रशिक्षणपछि पुनः कप्तान बनाइएको हो । पुजा पुनः नेपाली टोलीको उपकप्तानमा रहने छिन् ।
पुजासहित घोषित नेपाली टोलीमा रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुबि पोदार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सीमाना केसी, मनीषा उपाध्याय, रचना चौधरी, सोनी पाख्रिन, साना प्रविण र सावित्रा धामी रहेका छन् ।
भेट्रान सीता रानामगरलाई १८ सदस्यीय टोलीमा समावेश गरिएको छैन । नेपालले अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा हुने प्रतियोगितामा अमेरिका, भानुआटु र रुवान्डासँग डबल राउन्ड रोबिन लिगमा प्रतिस्पधा गर्नेछ ।
