चीनमा चम्किइन् राममाया

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले चेन्दु ट्रेलअन्तर्गत महिला ६० किलोमिटरतर्फको दौडमा राममायाको सफलता एउटा रेस जित्नुमात्र नभइ नेपाली महिलाको आत्मबल र क्षमताको प्रतीक बनेको बताए ।

चैत्र १५, २०८२

डीबी बुढा

Rammaya shines in China

What you should know

जुम्ला — यहाँको पातारासी गाउँपालिका–२ पेरेगाउँमा जन्मिएकी राममाया बुढाले चीनमा भएको चेन्दु ट्रेल रेसमा पहिलो स्थान प्राप्त गरेकी छिन् ।

शनिबार भएको चेन्दु ट्रेल पावर्ड बाइ टिसाइगुअन्तर्गत महिला ६० किलोमिटरतर्फको दौडमा उनी प्रथम भएकी हुन् । उनले निर्धारित दूरी ६ घण्टा ६ मिनेट ५७ सेकेण्डमा पूरा गरिन् । सो रेसमा टेन ती दोस्रो र ली यिङ तेस्रो भए । 

उनको यो जितले कर्णालीको एथ्लेटिक्स खेलाडी उत्साहित बनेका छन् । जुम्लाको दुर्गम पेरेगाउँमा जन्मिएर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलमा सहभागी हुँदै आएकी उनी अधिकांश खेलमा विजेता बनिसकेकी छिन् । ‘आगामी रेसहरूमा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य छ,’ राममायाले भनिन्, ‘म खुसी छु । दौडेर पनि आफू र आफ्नो देश चिनाउन सकिने रहेछ भन्ने अनुभूति भइरहेको छ ।’

एथ्लेटिक्सको राष्ट्रिय प्रतियोगिता, क्रस कन्ट्री दौड, रोड रेस हुँदै पछिल्लो समयमा अल्ट्रा रेसलाई प्राथमिकता दिँदै आएकी राममाया पुलिस क्लबमा आबद्ध छिन् । जुम्लाका भीर–पहरामा दौड्दै एथ्लेटिक्स खेलमा प्रवेश गरेकी उनी कर्णालीका किशोरीका लागि प्रेरणाकी स्रोत हुन् । अहिले दर्जन बढी किशोरी खेलाडी उनीसँग प्रेरित भएर विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायासँग प्रशिक्षण लिइरहेका छन् । राममायाले गत वर्ष हङकङमा भएको ५० किलोमिटरको अल्ट्रा म्याराथनमा पनि कीर्तिमान कायम गरेकी थिइन् । 

उनले भनिन्, ‘गाउँमा दौड्दा फगत दौडजस्तो लागे पनि राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलमा सहभागी हुँदा बल्ल महत्त्व बुझिन्छ ।’ राममायाले सात वर्षअघि स्कुल स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम स्थान हासिल गरिन् । लगत्तै जिल्ला हुँदै क्षेत्रीय स्तरका प्रतियोगिताहरूमा सहभागी हुन थालिन् । एथ्लेटिक्सप्रतिको चासो धेरै भए पनि धावक रोकायाले आफूसँगै राखेर प्रशिक्षण दिए । अहिले उनी आफ्नो नाम मात्र होइन, जिल्ला र सिंगो देशको नाम चिनाउन थालेकी छिन् । धावक रोकायाले भने, ‘राममायाको हरेक प्रगतिमा जुम्ला गर्व अनुभूति गर्छ । चीनमा भएको रेसमा प्रथम हुँदा सिंगो जुम्ला उत्साहित मात्र नभइ राममाया विश्वमाझ चम्किएकी छिन् ।’

धावक हरिबहादुर रोकायाका विचारमा खेलप्रतिको चासो र मिहिनेतको प्रतिफल स्वरूप राममाया यहाँसम्म आइपुगेकी हुन् । झण्डै १० वर्ष आफूसँगै प्रशिक्षण लिएको स्मरण गर्दै धावक रोकायाले भने, ‘जुम्ली चेलीले अन्तर्राष्ट्रिय भूमिमा प्रतिस्पर्धा गर्नु गौरवको विषय हो ।’ पहिले खेलकुद प्रतिभाहरू स्थानीयस्तरमै थन्किनु परेको थियो ।

‘खेल क्षेत्र भन्ने बित्तिकै युवकयुवतीहरूमा नैराश्य छाउने गरेको थियो,’ धावक रोकायाले भनिन्, ‘अहिले खेलप्रति युवामाझ निकै चासो बढेको छ ।’ राममायाको जित र उपलब्धिले युवालाई खेल क्षेत्रमा लाग्न उत्साहित बनाएको छ ।

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले राममायाको सफलता एउटा रेस जित्नुमात्र नभइ नेपाली महिलाको आत्मबल र क्षमताको प्रतीक बनेको बताए । राममायाका ७ दिदीबहिनी छन् । राममायाकी दिदी सुनमाया पनि एथ्लेटिक्स धाविका हुन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully