गण्डकी प्रदेशले अप्रत्यारिलो नतिजा निकाल्दै एपीएफमाथि निकाल्यो जित
काठमाडौँ — प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय प्रतियोगितामा आइतबार दुई यस्तो नतिजा आए, जुन घरेलु क्रिकेटले लामो समय स्मरण गर्नेछ । त्रिभुवन आर्मी क्लबका कुशल मल्लले पीएम कप इतिहासकै एक उत्कृष्ट इनिङ्स खेले भने गण्डकी प्रदेशले घरेलु क्रिकेटकै सबैभन्दा अप्रत्यारिलो नतिजा निकाल्ने क्रममा नेपाल एपीएफ क्लबलाई पराजित गर्यो ।
कुशलले अविजित ९० रन बनाएपछि आर्मीले मूलपानीको माथिल्लो मैदानमा भएको सनसनीपूर्ण खेलमा बागमती प्रदेशलाई ३ विकेटले पराजित गर्यो । वर्षाले प्रभावित रहेको कारण २८ ओभरमा छोट्याइएको खेलमा टस हारेपछि ब्याटिङको निम्तो पाएको बागमतीले ७ विकेट गुमाई २ सय ८ रन बनाएको थियो । कुशलको सानदार इनिङ्सपछि आर्मीले १ बल अगाडि २ सय १० रन बनायो ।
आर्मीलाई अन्तिम ३ ओभरमा ३७ रन आवश्यक रहेको समीकरण बनेको थियो । तर २६ औं ओभरमा इशान पाण्डेले नरेन साउद र पवन कार्कीलाई लगातार बलमा आउट गरेपछि आर्मीको अवस्था झन् जटिल बन्दै अन्तिम दुई ओभरमा ३४ रन बनाउनुपर्ने स्थितिमा पुग्यो । कुशलले बागमतीका कप्तान सन्दीप लामिछानेलाई २७ औं ओभरमा तीन छक्कासहित २२ रन प्रहार गरे ।
आर्मीलाई अन्तिम ओभरमा विजयका लागि १२ रन चाहिने अवस्थामा शाहव आलमले पहिलो बलमै १ रन जोडेर कुशललाई स्ट्राइक दिए । दोस्रो बलमा कुनै रन लिन नसकेका कुशलले तेस्रोमा चौका प्रहार गरे । रिजन ढकालले त्यसपछिको बलमा वाइड दिए पनि अर्को दुई बलमा कुशलले क्रमशः २ रन र छक्का प्रहार गर्दै आर्मीलाई सनसनीपूर्ण विजय दिलाए । प्लेयर अफ द म्याच कुशलले ५८ बल खेली ३ चौका र ८ छक्का प्रहार गरे ।
ओपनर तृतराज दासले ५४ रन बनाए । उनले ४८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कप्तान विनोद भण्डारी ९, अर्जुन साउद १४, भीम सार्की ५ र बसिर अहमद ४ रनमा आउट भए । कुशल र नरेनले छैटौं विकेटमा ५४ रनको साझेदारी गरे । नरेनले २२ बल खेली २ चौका र १ छक्कासहित २६ रन बनाए । बागमतीको इशान र विवेक रानामगरले २–२ तथा रिजन, सन्दीप र सोनु देवकोटाले १–१ विकेट लिए ।
यसअघि बागमतीले अन्तिम ६ ओभरमा ६८ रन जोड्दै मजबुत स्कोर बनाएको थियो । सोनु र सन्दीपले आठौं विकेटमा २५ बलमा अविजित ५० रनको साझेदारी गरे । सोनु १९ बलमा ३० र सन्दीप १२ बलमा २१ रन बनाई अविजित रहे । सोनुले २ चौका र १ छक्का तथा सन्दीपले २ छक्का प्रहार गरे ।
ओपनर आशुतोष घिरैयाले सर्वाधिक ३८ रन बनाए । उनले ३६ बल खेली ५ चौका प्रहार गरे । शुभ कंसाकार १५, पवन थापा ३७ बल खेली ३ चौका प्रहार गरी ३५, इशान ३, विवेकले २४ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ३०, उत्तम थापामगरले १ तथा प्रतिश जीसीले १५ बल खेली समान २ चौका र छक्का प्रहार गरी २८ रन बनाए ।
आर्मीका नरेनले ४ विकेट लिए । उनले ६ ओभरमा २६ रन खर्चे । शाहव, दुर्गेश गुप्ता र बसिर अहमदले १–१ विकेट लिए । आर्मी ४ खेलमा तेस्रो विजय हात पारी ७ अंकसहित शीर्ष स्थानमा छ । नेपाल पुलिस क्लब र मधेश प्रदेश ५–५ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
एपीएफमाथि गण्डकीको अप्रत्यारिलो जित
गण्डकीले तल्लो मूलपानीमा एपीएफलाई ४३ रनले पराजित गर्यो । चार खेलमा गण्डकीको यो पहिलो जित हो । चार खेलमा दोस्रो हार बेहोरेपछि एपीएफको शीर्ष दुईमा पर्दै फाइनल खेल्ने आशामा ठूलो धक्का लागेको छ ।
टस जितेर ब्याटिङ रोजेको गण्डकीले २१ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाई १ सय ५० रन बनायो । ओपनर गौरव विकले सर्वाधिक ३७ रन बनाए । उनले ३६ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर अर्जुन कुमालले २० बल खेली ३ चौका प्रहार गर्दै २५ रन बनाए ।
दीपक डुम्रेले अर्को उपयोगी इनिङ्स खेल्ने क्रममा ३४ रन जोडे । उनले २७ बल खेली २ चौका र १ छक्का प्रहार गरे । सिब्रिन श्रेष्ठ शून्य, दिनेश बुढामगर १९ र सन्देश पन्थी ३ रनमा आउट भए । कप्तान विपिन खत्री १४ बल खेली १ छक्का प्रहार गरी २० रनमा अविजित रहे । एपीएफका अविनाश बोहराले ३ विकेट लिए । उनले ५ ओभरमा ३५ रन खर्चे । कमलसिंह ऐरी, युवराज खत्री र अभिषेक गौतमले १ विकेट लिए ।
जवाफमा आएको एपीएफ १८.३ ओभरमा १ सय ७ रनमै अलआउट भयो । सिब्रिन र अपराजित पौडेलले ३–३ विकेट लिँदै एपीएफलाई धराशायी बनाए । सिब्रिनले ४ ओभरमा २५ र प्लेयर अफ द म्याच अपराजितले ५ ओभरमा ३१ रन खर्चे । सुवास भण्डारीले २.३ ओभरमा ७ रन खर्चेर २ र कमल परियारले १ विकेट लिए ।
एपीएफबाट ओपनरद्वय लोकेश बम र आसिफ शेखले समान १४ रन बनाए । तर त्यसपछि कप्तान रोहित पौडेल ३, दीपक बोहरा ६, सन्दीप जोरा ८, युवराज ७ र अमरसिंह रौटेला शून्यमा आउट भए । सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । उनले २४ बल खेली १ छक्का प्रहार गरे । कमलले १४ बल खेली ३ चौका प्रहार गर्दै १७ रन बनाए । अभिषेक ११ बल खेली ३ चौका प्रहार गरी १४ रनमा अविजित रहे ।
प्रतियोगिताका अब बाँकी खेलहरू मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ । सोमबार जनकपुरमा मधेश र कर्णाली प्रदेश तथा वीरगन्जमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बीच खेल हुनेछ ।
