जुम्ला रारा अल्ट्रा म्याराथन वैसाख २६ मा

खेलकुदका माध्यमबाट कर्णालीको सुन्दरता चिनाउन र खेलाडीको प्रतिभा पहिचानका लागि हरेक वर्ष जुम्ला–रारा म्याराथन हुँदै आएको छ ।

चैत्र १५, २०८२

डीबी बुढा

Jumla Rara Ultra Marathon on April 26

What you should know

जुम्ला — जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौं संस्करण आगामी वैसाख २६ मा हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा जुम्ला–रारा अल्ट्रा म्याराथन हुन लागेको हो ।

खेलकुदका माध्यमबाट कर्णालीको सुन्दरता चिनाउन र खेलाडीको प्रतिभा पहिचानका लागि हरेक वर्ष जुम्ला–रारा म्याराथन हुँदै आएको छ । यो म्याराथनमा स्थानीय, राष्ट्रिय र विदेशी खेलाडी समेत आउने गरेका छन् ।

धावक हरिबहादुर रोकायाले जुम्ला–रारा म्याराथन दुर्गमका युवालाई एथ्लेटिक्समा आकर्षण गर्ने माध्यम बनेको बताए । उनले भने, ‘यो दौड मात्र होइन । यो कर्णालीको सुन्दरता चिनाउने अभियान पनि हो ।’ उनका अनुसार अहिलेसम्म जुम्ला–रारा म्याराथनमा उपाधि जितेका खेलाडी देशविदेशमा हुने म्याराथनमा सहभागी बनेर राम्रो स्थान समेत ओगटिरहेका छन् ।

कर्णालीको प्रमुख पर्यटकीय गन्तब्य चन्दननाथ भैरवनाथ मन्दिरदेखि सुरु हुने म्याराथन डाँफेलेक, काभ्रागुफा, भुलभुले हुँदै चुचेमाराको लेक भएर रारातालमा पुगेर सकिनेछ । कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनले देशविदेशका खेलाडीको ध्यान कर्णाली केन्द्रीत गरेको बताए । उनले भने, ‘कर्णाली विकट मात्र नभइ खेलकुदका माध्यमबाट पनि समृद्ध हासिल गर्न सक्छ भन्ने सन्देश म्याराथनले दिने गरेको छ ।’

म्याराथनमा सहभागी स्थानीय खेलाडीको दर्ता शुल्क तीन हजार रुपैयाँ तोकिएको छ । अन्य धावकका लागि पाँच हजार रुपैयाँ दर्ता शुल्क तोकिएको अध्यक्ष शाहीले जानकारी दिए । प्रथमलाई एक लाख, द्वितीयलाई ७५ हजार र तृतीय हुने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ । चौथो र पाँचौ स्थान ल्याउने खेलाडीले प्रोत्साहन स्वरुप २० हजार रुपैयाँ पाउने छन् । वैसाख २० सम्म नाम दर्ता गर्न सकिने छ । म्याराथनको प्राविधिक अध्ययनको लागि टोली रारातिर जाने अध्यक्ष शाहीले जानकारी दिए । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully