हाउन्ड्सले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आइतबार कीर्तिपुरलाई ७९–६९ ले पराजित गर्यो ।
काठमाडौँ — हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) मा केभीसी हाउन्ड्सले विजय यात्रा राख्दै लगातार सातौं जित हात पारेको छ । हाउन्ड्सले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आइतबार कीर्तिपुरलाई ७९–६९ ले पराजित गर्यो ।
हाउन्ड्सले २५–२१, १७–११, ११–१५, २६–२२ को प्रदर्शन गर्यो । १० खेलमा सातौं जितपछि १७ अंक जोडेको हाउन्ड्स चौथो स्थानमा छ । हाउन्ड्सका असिम श्रेष्ठ प्लेयर अफ दि म्याच भए । आठौं हार बेहोरेको कीर्तिपुरको १० खेलबाट १२ अंक छ ।
शनिबार राति गोल्डेनगेट बास्केटबल क्लबले सोलो बास्केटबल क्लबलाई १००–६० ले पराजित गर्दै नवौं जित हात पारेको थियो । गोल्डेनगेटले १० खेलबाट १९ अंक जोडेको छ । गोल्डेनगेटका जैन खान २४ स्कोर गर्दै प्लेयर अफ द म्याच भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउन्ड रोविनका आधारमा हुने लिगमा कुल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफअन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।
