नतिजा नआएपछि नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले १–१ अंक पाएका छन् ।
काठमाडौँ — प्रधानमन्त्री कप (पीएम) पुरुष राष्ट्रिय प्रतियोगितामा शनिबारको दुवै खेल वर्षाका कारण रद्द भएको छ । नतिजा नआएपछि नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले १–१ अंक पाएका छन् ।
मूलपानीको माथिल्लो मैदानमा शनिबार बिहानसम्म परेको वर्षाका कारण २२ ओभरमा छोट्याइएको खेलमा गण्डकीले पुलिसविरुद्ध १८ ओभरमा २ विकेट गुमाई १ सय ३ रन बनाएको थियो । तर त्यसपछि पुनः वर्षा भएपछि खेल रद्द हुन पुगेको हो ।
खेल रोकिँदा अर्जुन कुमाल ३४ र दीपक डुम्रे ३२ रन बनाएर खेलिरहेका थिए । अर्जुनले ५४ बल खेल्दै ३ चौका र दीपकले १२ बलमा ३ चौका र २ छक्का प्रहार गरिसकेका थिए । सिब्रिन श्रेष्ठ ६ बल खेल्दा ३ चौकासहित १२ र मुस्कान थापा ३७ बलमा १ चौका प्रहार गर्दै १७ रनमा आउट भए । पुलिसका करण केसी र ललित राजवंशीले १–१ विकेट लिए ।
तल्लो मूलपानी मैदानमा एपीएफ र आर्मीबीचको खेल वर्षाका कारण २० ओभरमा छोट्याइएको थियो, जहाँ टस हारेपछि ब्याटिङमा आएको एपीएफले ९.५ ओभरमा ३ विकेट गुमाई ८५ रन बनायो । त्यसपछि पुनः वर्षा हुँदा खेल रोकिएको थियो । कप्तान रोहित पौडेल १७ बल खेल्दै २ चौका र १ छक्कासहित बनाएको २६ रनमा अविजित थिए । दीपक बोहरा १८, आसिफ शेख १३ बलमा १ छक्कासहित २१ र सन्दीप जोरा ७ बलमा १ छक्कासहित ११ रनमा आउट भएका थिए । आर्मीका कुशल मल्लले २ र बसिर अहमदले १ विकेट लिएका थिए ।
प्रतियोगितामा वर्षाका कारण खेल रोकिएको दोस्रो अवसर हो । जनकपुरमा मधेश र कोशी प्रदेशबीच टस पनि नभई खेल रद्द भएको थियो भने कर्णालीविरुद्धको खेलमा लुम्बिनी प्रदेशले ७ ओभरमा विनाक्षति २० रन बनाएको अवस्थामा खेल रोकिएको थियो । आइतबार मूलपानीको दुई मैदानमा एपीएफ र गण्डकी तथा बागमती र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
