वैशाख १०–१९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी टोलीले प्रतिस्पर्धा गर्ने एनभीएले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । संघले वार्षिक रूपमा आयोजना गर्दै आएको यो प्रतियोगिता चैतमा गर्ने तालिका थियो ।
काठमाडौँ — नेपाल भलिबल संघ (एनभीए) ले दसौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग वैशाखमा गर्ने भएको छ ।
वैशाख १०–१९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी टोलीले प्रतिस्पर्धा गर्ने एनभीएले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । संघले वार्षिक रूपमा आयोजना गर्दै आएको यो प्रतियोगिता चैतमा गर्ने तालिका थियो ।
प्रतियोगिताको पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बूढानीलकण्ठ क्लबको सहभागिता रहने भएको छ ।
महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबले भाग लिनेछन् । प्रत्येक टोलीले बढीमा ३ विदेशी खेलाडी राख्न पाउने जनाइएको छ ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान र यसपल्ट सर्वाधिक पुरस्कार राखिएको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए । विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । अध्यक्ष चन्दले क्लब र खेलाडीलाई आर्थिक रूपमा सबलीकरण गर्न र खेललाई व्यावसायिकरण गर्ने उद्देश्यले संघले नेपाली भलिबल खेल इतिहासकै अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार राशि राखेको बताए ।
सर्वोत्कृष्ट खेलाडीलाई पनि समान ६० हजार तथा विभागत उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ । काठमाडौंबाहिरका टोलीका खेलाडीलाई प्रतिव्यक्ति दैनिक १२ सय रुपैयाँ र उपत्यकाभित्रका खेलाडीलाई दैनिक ३ सय खाजा खर्च उपलब्ध गराइने जनाइएको छ । प्रतियोगिता आयोजना गर्न करिब १ करोड १५ लाख रुपैयाँ खर्च लाग्ने संघले जनाएको छ ।
