शिवपुरी ट्रेल रेसमा मिलन र सुनसरी विजयी

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ द्वारा आयोजित दौडमा मिलनले निर्धारित दूरी १ घण्टा ३५ मिनेट ४६ सेकेन्डमा पूरा गरे ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Milan and Sunsari win in Shivpuri Trail Race

काठमाडौँ — मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ/शिवपुरी खुला ट्रेल रेसमा विजेता भएका छन् । शनिबार भएको १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुष र सुनसरी महिलातर्फ च्याम्पियन भए ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ द्वारा आयोजित दौडमा मिलनले निर्धारित दूरी १ घण्टा ३५ मिनेट ४६ सेकेन्डमा पूरा गरे । प्रताप थाम्सुहाङ (१ घण्टा ३६ मिनेट ०४ सेकेन्ड) दोस्रो र करण रावल (१ घण्टा ३६ मिनेट ४६ सेकेन्ड) तेस्रो भए । लोकेन्द्र राई चौथो र विशाल राई पाँचौं स्थानमा रहे ।

सुनसरीले निर्धारित दूरी तय गर्न १ घण्टा ५८ मिनेट ०४ सेकेन्ड समय खर्चिन् । राज्यलक्ष्मी रावल (२ घण्टा ०२ मिनेट ०७ सेकेन्ड) दोस्रो र गीता नेपाली (२ घण्टा १० मिनेट २२ सेकेन्ड) तेस्रो भए । आश्मा विकले चौथो र मञ्जु सुनुवारले पाँचौं स्थानमा दौड टुंग्याए ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार पुरस्कार प्राप्त गरे । दुवै समूहमा चौथो र पाँचौं स्थानमा रहने खेलाडीले ५–५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई आयोजक वडा ३ का अध्यक्ष आकाश धिताल, ओलम्पियन धाविका सन्तोषी श्रेष्ठलगायतले पुरस्कृत गरे ।

दौडमा २ सय ४० को सहभागिता रहेको प्रतियोगिता संयोजक वडा ३ का सदस्य विकास तामाङले जनाए । बूढानीलकण्ठ मन्दिर परिसरबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी बूढानीलकण्ठ मन्दिर परिसरमै आएर टुंगिएको थियो ।  

कान्तिपुर

Link copied successfully