नेपाल कबड्डी लिग सिजन–२ का मालिकहरू सार्वजनिक
What you should know
काठमाडौँ — नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ ।
आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले शनिबार आयोजित कार्यक्रममा फ्रेन्चाइज टोलीका मालिकहरू सार्वजनिक गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेस्टमेन्ट होल्डिङ प्रालिले विराटनगरको टिम लिएको छ । यो टिमको नाम परिवर्तन गरी विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली राखिएको छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्समा यथावत रहेको छ । उपविजेता काठमाडौं माभरिक्सको स्वामित्व काठमाडौं माभरिक्स प्रालिमा पुगेको छ ।
फेवा कन्स्ट्रक्सन प्रालिले पोखरा लेकर्स लिएको छ भने बुटवल बुल्सको स्वामित्व मोराई कर्पोरेसनसँग रहेको छ । हिमालयन रेइडर्सको रूपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टिमको नाम बुटवल बुल्समा परिवर्तन भएको छ । धनगढी वाइल्डक्याट्स प्रालिको नाममा सुदूरपश्चिमको प्रतिनिधि टिम धनगढी वाइल्डक्याट्स भएको छ ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले देशमा लोकिप्रय भइरहेको एनकेएल कबड्डी लिगमा व्यापारिक घराना आबद्ध गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले पहिलो संस्करणभन्दा दोस्रो संस्करणलाई थप उत्कृष्ट बनाउने बताए ।
कर्पोरेट हाउसहरूको आबद्धताले लिगलाई थप उचाइ दिनुका साथै नेपाली कबड्डीलाई विश्वमा अब्बल प्रयास रहेको उनको भनाइ थियो । नेपालका लागि श्रीलंकाली राजदूत रुवन्थी डेलपिटिया, अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको उपस्थितिमा टिम मालिक घोषणा गरिएको हो ।
नेपाली कबड्डीलाई व्यावसायिक रूप दिने प्रयासमा थालिएको एनकेएलको दोस्रो सिजन जेठ २२ देखि सुरु हुनेछ । सिजन २ का लागि प्लेयर्स ड्राफ्टको लागि स्वदेशी खेलाडीको छनोट भइसकेको छ भने १५ देशका १ सय बढी खेलाडीले पनि नाम दर्ता गरेका छन् । एनकेएल २ को ब्रोडकास्ट पार्टनरको रूपमा कान्तिपुर म्याक्स टीभी रहेको छ ।
