प्रतियोगिताको विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
धनकुटा — धनकुटाको हिलेमा जारी १८औं संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिताको फाइनल आज दिउँसो हिले खेल मैदानमा हुँदैछ ।
फाइनलमा भोजपुरको रामप्रसाद राई गाउँपालिका र झापाको कनकाई नगरपालिका भिड्ने छन् । हिले भलिबल क्लबको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा रामप्रसादले धनकुटाको पाख्रिवास नगरपालिकालाई र झापाको कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।
फाइनल खेल दिउँसो एक बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगितामा कोशी प्रदेशका ९ विभिन्न पालिकाको सहभागिता रहेको थियो । हिलेमा राम नवमीमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
