अध्यक्ष पंकजविक्रम नेम्वाङले सरकारसँग द्वन्द्व बनाउने पक्षमा नरहेको बताए
धुलाबारी — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो संस्थानलाई गरेको तीन महिनाका निलम्बन फिर्ता लिन शुक्रबार माग गरेका छन् ।
चैत १३ का लागि तय चुनावी साधारण सभा स्थगित भएपछि एन्फाले त्यसको स्थानमा होटल मेची क्राउनमा भेलाको आयोजना गरेको थियो । त्यस अगाडि एन्फाको निर्वाचन कमिटीले राखेपको निलम्बनपछि चुनाव अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जनाएको थियो ।
निर्वाचनकै लागि फिफा र एसियली फुटबल महासंघ (एएफपी) का लागि प्रतिनिधि नेपाल आएकोमा उनीहरूले नै चुनाव स्थगित गर्ने सल्लाह दिएपछि तय कार्यक्रम स्थगित भएको थियो । यी प्रतिनिधिले चुनावी कार्यक्रम स्थगित भएपछि नेपाल छाडिसकेका छन् । भेलामा अध्यक्ष नेम्वाङले भेलामा भने, ‘हाम्रो जिम्मेवारी देशको कानुन मान्ने पनि हो, हाम्रो जिम्मेवारी फिफाको विधान मान्ने पनि हो । प्रत्येक खेलको अन्तर्राष्ट्रिय सर्वोच्च निकायसँग मेल खाने कानुन बनाउनु पर्छ ।’
अध्यक्ष नेम्वाङले सरकारसँग द्वन्द्व बनाउने पक्षमा नरहेको बताए । उनले थपे, ‘अबको घटनाक्रम पछि बल सरकारको कोर्टमा गएको छ । अहिले चलिरहेको सबै विवादको अन्तिम निर्णय दिने काम सरकारकै हो ।’ उनले राखेपले एन्फाका कार्यक्रममा असहयोग गरेको अरोप लगाउँदै हङकङविरुद्धको खेल पनि त्यसै कारण स्थगित गर्नु परेको पनि बताए ।
त्यसअगाडि कार्यक्रममा महासचिव किरण राईले एन्फा राखेपको निलम्बनमा परेपछि अब नेपाली फुटबललाई अगाडि बढाउने जिम्मेवारी राखेपकै भएको पनि बताए । उनले भने, ‘अब हामी निलम्बनमा छौं । एसियाकप छनोट तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको खेलका लागि पुरुष राष्ट्रिय टिम विदेश जानु छ । त्यस्तै फिफा सिरिजका लागि नेपाली महिला टिम पनि विदेश जानु छ, अब त्यसको व्यवस्था पनि राखेपले गर्नु पर्नेछ ।’
उनले पछिल्लो चार वर्षको कार्यकालमा सबै खाले फुटबल गतिविधि भएको दाबी गर्दै आफूहरूलाई लगातार आलोचना भइरहेकोमा त्यसमा असन्तोष पोखे । उनले थपे, ‘अब जे हुनेछ, फिफा र राखेपबीच हुनेछ । अब नेपाली फुटबलमा के हुनेछ भन्ने निर्णय फिफाबाट आउने छ । हामी देशको नियम कानुन मान्दैनौं भन्ने पक्षमा पनि छैनौं ।’
