बाहिनीपति कपमा नम्बर १ गण श्रीअन्तु इलाम प्रथम

प्रतियोगितामा महिला र पुरुससहित कुल ३२० खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

चैत्र १२, २०८२

अर्जुन सुवेदी

No. 1 Gana Sriantu Ilam wins first place in Bahinipati Cup

सुनसरी — सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरीद्वारा आयोजित बाहिनीपति कपमा नम्बर १ गण श्रीअन्तु इलाम प्रथम भएको छ ।

सशस्त्र प्रहरी संगठनको पेशागत गतिविधिअन्तर्गत ५ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नम्बर ३७ गण हेडक्वाटर सुनसरी दोस्रो भएको छ । प्रतियोगितामा नम्बर ४ गण हेडक्वाटर इनरुवा सुनसरीले तेस्रो स्थान हासिल गरेको छ ।

प्रथम स्थान हासिल गरेको श्रीअन्तुले  १३ स्वर्ण, १० काँस्य र ६ रजतसहित कुल २९ पदक जितेको हो । दोस्रो स्थानको नम्बर ३७ गणले ९ स्वर्ण, ६ कास्य र ४ रजतसहित १९ पदक जितेको छ । नम्बर ४ गण सुनसरीले ४ स्वर्ण पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा बाहिनी मातहतका कोशी प्रदेशमा रहेका विभिन्न गण तथा गुल्महरूबीच फुटबल, भलिबल, कबड्डी, बास्केटबल, टेबल टेनिस र एथलेटिक्सका विभिन्न विधामा प्रतिस्पर्धा भएका थिए । ती बिधामा महिला र पुरुससहित कुल ३२० खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

सशस्त्र प्रहरी बलका सदस्यहरूको शारीरिक तन्दुरुस्ती, व्यावसायिक क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिरजंग थापाले जानकारी दिए ।

प्रतियोगिताको बिजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथी एवं बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापालगायतले पुरस्कार वितरण गरे । 

अर्जुन

Link copied successfully