एन्फा चुनाव तेस्रो पटक स्थगित
झापा र काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन तेस्रो पटक स्थगित भएको छ । निर्धारित तालिकाअनुसार शुक्रबार (चैत १३) झापामा एन्फाको नियमित साधारणसभासहित निर्वाचन हुने कार्यक्रम रहेको थियो । तर एन्फाले बिहीबार साँझ आकस्मिक रूपमा सूचना जारी गर्दै निर्वाचन स्थगित गरेको जनाएको छ ।
सरकारको निर्देशनलाई बेवास्था गर्दै एन्फाले निर्वाचन कार्यक्रम अगाडि बढाउने निर्णय गरेको थियो । नेपाली खेलकुद सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले तहगत निर्वाचन नभएको कारण पटक पटक स्थगित गर्न भनेको थियो । तर, पंकजविक्रम नेम्बाङको नेतृत्वमा रहेको एन्फाले त्यसलाई अटेर गर्दै निर्वाचन अघि बढाउने निर्णय गरेपछि नेपाली फुटबलको सर्वोच्च निकायमाथि ३ महिना निलम्बन गर्ने कठोर कदम चालेको थियो ।
जिल्ला, प्रदेशका निर्वाचन नगरी सोझै केन्द्रको निर्वाचनमा जाने प्रयासलाई राखेपले स्वीकारेको थिएन । राखेपले बारम्बार यसबारे पत्राचार गर्दा एन्फाले आलटाल गरेर जबरजस्ती निर्वाचन गर्न खोज्दा यो परिणाम आएको निर्वाचनको विरोधमा रहेका एन्फाकै पदाधिकारीहरूले बताए ।
एन्फाको विधानअनुसार एउटा पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने प्रावधान छ । तर तहगत निर्वाचन नहुँदा जिल्ला अध्यक्षमा दुई कार्यकालभन्दा बढी बिताएकाहरू पनि यस ‘अर्ली इलेक्सन’ सहभागी भइरहेका थिए । त्यसलाई राखेप र एन्फाकै एउटा समूहले स्वीकारेको थिएन ।
एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचनमा भाग लिएर इतिहासबाट कलंकित हुने काम नगर्न क्लब प्रतिनिधिहरूलाई आग्रह गरेका थिए । राखेपले एन्फालाई निलम्बन गरेपछि साधारणसभा एवं निर्वाचनका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न सहिद स्मारक लिगका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरू, जिल्ला संघ एवं सरोकारबालाहरूले पत्रकार सम्मेलनमा जुटेका थिए । उनीहरूले झापामा हुने तय भएको निर्वाचनमा आफूहरू सहभागी नहुने बताएका थिए ।
एन्फा अध्यक्षका प्रत्याशी दीर्घबहादुर केसी (कुमार), वरिष्ठ उपाध्यक्षका उम्मेदवार सुन्दर नरसिंह जोशी, उपाध्यक्ष पदका चार उम्मेदबार गणेश चन्द, उत्तमराज भण्डारी, विश्वासविक्रम शाह र विजय घलेले एन्फा राखेपबाट निलम्बित भइसकेको अवस्थामा निर्वाचन गर्नुको कुनै अर्थ नभएको बताएका थिए । उपाध्यक्षकै अर्का उम्मेदवार पेमा डोल्मा लामाले पनि विज्ञप्तिमार्फत आफूले उम्मेदवारी फिर्ता लिएको जनाएकी थिइन् ।
‘तहगत निर्वाचन भनेको सुशासनको एउटा जरा हो, एन्फाको वर्तमान कमिटीले त्यसैलाई लत्याएको छ । २२–२३ जिल्लामा निर्वाचन नभएकाले ती जिल्लाका प्रतिनिधिले दुई कार्यकालभन्दा बढी पटक भाग लिइरहेका छन्, ती जिल्ला फुटबल संघहरूले साधारणसभा समेत नगरी बसेका छन्,’ हिमालयन शेर्पा क्लबका अध्यक्ष रहेका कर्माछिरिङले आक्रोश व्यक्त गरे, ‘फुटबल अहिले कुन स्थितिमा पुगेको छ, सजिलै बुझ्न सकिन्छ । आफ्नो म्याच कहिले हुन्छ, क्लबहरूलाई नै थाहा हुँदैन अनि दर्शकले कसरी थाहा पाएर उसले आफ्नो टिमको खेल हेर्न पाओस् ।’
नेम्बाङ नेतृत्वको एन्फाले पहिलो बैठकबाटै गलत कार्य गर्दै आएको अध्यक्षका उम्मेदवार केसीको आरोप थियो । ‘एन्फाको पहिलो बैठकमै महासचिव र कोषाध्यक्ष जस्तो प्रमुख पदमा विषयविज्ञ नियुक्ति गर्न गरेको मेरो अनुरोधलाई एन्फा नेतृत्वले सुनेन, गल्ती त्यहींबाट सुरु भयो,’ एन्फाका वर्तमान उपाध्यक्ष रहेका केसीले भने, ‘त्यसै कारण अहिले नेपाली फुटबल दुर्घटनामा परेको छ । एन्फाको नेतृत्व कतिसम्म कमजोर छ भने निर्वाचनको एक दिनअघि सम्म पनि झापाको कुन स्थानमा निर्वाचन हुन लागेको हामीलाई जानकारी छैन ।’
एन्फा निर्वाचन समितिसँग कुन स्थानमा निर्वाचन हुने जानकारी माग्दा पनि नपाएको केसीको आरोप थियो । निर्वाचनमा भाग नलिने निर्णय गरेका धेरैले झापाको सीमापारि गएर निर्वाचन गर्न खोजेको आशंका गरेका थिए । झापा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष जलकुमार गुरुङले भने, ‘मेरो घर बिर्तामोड हो, मेरै घरको छेउछाउ एन्फाको कथित निर्वाचन हुँदै छ, उनीहरू छलेर चुनाव गर्दै छन्, कहाँ हुने के हुने केही खबर गरेका छैनन् ।’
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले अहिलेको स्थितिलाई नेपाली फुटबलको कालो दिनको रूपमा अर्थ्याए । सीमित व्यक्तिको स्वार्थले गर्दा अस्तव्यस्त एन्फालाई निलम्बनको स्थितिमा पुर्याएको बताउँदै उनले यसको सबैभन्दा बढी चोट खेलाडी, प्रशिक्षक र रेफ्रीमाथि परेको बताए ।
‘मैले ३५ वर्ष नेपाली फुटबलमा बिताइसकेको छु, तर अहिले जस्तो अस्तव्यस्त कहिल्यै भएको थिएन, सबै अन्योल छ, बहुमतको दम्भले गर्दा नेपाली फुटबल दुर्घटनामा परेको छ,’ मध्यपुर युथ एसोसिएसनका अध्यक्ष रहेका सिंहले भने, ‘त्यसैले अहिले राखेपले चालेको कदम बाध्यकारी हो, नेपाली फुटबल बचाउनका लागि हो, यसलाई राजनीतिक हस्तक्षेप भन्न मिल्दैन । खेलकुद ऐनअनुसार एन्फाको निर्वाचन गरभन्दा नमानेपछि राखेपले चालेको कदम हो यो ।’
फिफा र एएफसीले पनि देशको कानुन मानेर अगाडि बढ भनेको तर केही व्यक्तिले गलत सूचना दिएर फिफा र एएफसीलाई गुमराहमा राखेको सिंहको आरोप थियो । उनले एउटै बैठक पनि सहज हिसाबमा गर्न नसकेकाले वर्तमान एन्फा कमिटी पूरै असफल भएको तर्क गरे । करोडौं रुपैयाँ खर्च गरेर लिग खेलिरहेका क्लबहरूलाई एन्फाले पुरै बेवास्ता गरिएको उनको आरोप थियो । उनले भने, ‘निर्वाचन मात्र निकास होइन, टेबल बैठकबाट यो अन्योल स्थितिबाट निकास निकाल्नुपर्छ ।’
उपाध्यक्षका लागि उम्मेदवार दिएका सरस्वती क्लबका अध्यक्ष उत्तमराज भण्डारीले एन्फाको निर्वाचनमा सहभागिता जनाउनु भनेको गैरजिम्मेवार हुनु र देशको कानुन मान्दिनँ भन्नु रहेको बताए । राखेपले एन्फालाई निलम्बन गरेपछि नै चुनावी प्रक्रिया बाहिरिएको जनाउँदै उनले भने, ‘वर्तमान नेपाली फुटबल र चुनाव चासोको विषय होइन, यो चिन्ताको विषय हो । निर्वाचन गर्छु भनेर वर्तमान समिति लागिरहँदा एक दिनअघि एन्फा निलम्बनको अवस्थामा आइपुग्यो, यसले नेपाली फुटबललाई केही राम्रो संकेत गर्दैन ।’
