सुवास बमको निर्णायक गोलमा नेपालले यू–२० साफ च्याम्पियनसिप फुटबलमा बुधबार श्रीलंकालाई १–० ले पराजित गरेको छ ।
काठमाडौँ — सुवास बमको निर्णायक गोलमा नेपालले यू–२० साफ च्याम्पियनसिप फुटबलमा बुधबार श्रीलंकालाई १–० ले पराजित गरेको छ । प्रतियोगितामा नेपालको लगातार दोस्रो जित हो । समूह ‘ए’ मा प्राप्त जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ । नेपालले पहिलो खेलमा भुटानलाई हराएको थियो । नेपालको ६ अंक भएको छ र समूहको शीर्षस्थानमा छ ।
श्रीलंका भने आफ्नो पहिलो हारपछि ३ अंकमा सीमित रह्यो । माल्दिभ्सको मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा सुवासले २४ औं मिनेटमा गोल गरे । उनले यसका लागि कप्तान धर्मेन्द्र कुँवरको पास सदुयोयोग गरे । पूरा खेल लगभग नेपालको नियन्त्रणमा थियो, तर टिमले थप गोल भने गर्न सकेन । टिमलाई भाग्यले पनि साथ दिएको थिएन ।
सुवासकै दुई प्रहार पोस्टमा ठोक्किएको थियो । पहिलो हाफको सुरुमै सुवासको प्रहार पोस्टमा लागेर फर्किएको थियो । त्यसको रिबाउन्डमा पनि धर्मेन्द्रको हेडर क्रसबारमा लागेर फर्केको थियो । दोस्रो हाफमा सुवासको एउटा अर्को प्रहार पोस्टमा लागेको थियो । पूरा खेल अवधिमा श्रीलंकाले एउटै मात्र उल्लखेनीय आक्रमण बुनेको थियो, तर त्यो सटिक रहन सकेन । अब नेपालले समूहको अन्तिम खेलमा शुक्रबार माल्दिभ्सको सामना गर्नेछ ।
