डिफेन्डिङ च्याम्पियन पुलिसले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई १ सय ८५ रन र बागमतीले गण्डकी प्रदेशलाई १ सय ७० रनले पराजित गरेको थियो ।
काठमाडौँ — नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार जित निकालेका छन् । डिफेन्डिङ च्याम्पियन पुलिसले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई १ सय ८५ रन र बागमतीले गण्डकी प्रदेशलाई १ सय ७० रनले पराजित गरेको थियो ।
पहिलो खेलमै त्रिभुवन आर्मी क्लबसँग ४ विकेटले पराजित भए पनि पुलिस टिम माथिल्लो मूलपानी क्रिकेट मैदानमा प्रभावशाली प्रदर्शन गरेर लगातार तेस्रो उपाधि जितको लय समात्न सफल भयो । टस हारेपछि ब्याटिङमा आएको पुलिसले ९ विकेट गुमाई ३ सय ५५ रन बनाएको थियो ।
ओपनर कुशल भुर्तेल ४ रनमै आउट भए पनि अर्का ओपनर दिनेश खरेलसहित शंकर राना, कप्तान आरिफ शेख र दिलशाद अलीले अर्धशतक बनाए । दिनेशले ५२ बल खेल्दा ६ चौका र ४ छक्कासहित ६०, शंकरले ५४ बल खेल्दा ५ चौका र ४ छक्कासहित ६१, आरिफले ४२ बल खेल्दा ५ चौका र २ छक्कासहित ५० रन बनाए । दिलशाद ३० बल खेलेर ५ चौका र ३ छक्कासहित ५१ रनमा अविजित रहे ।
अमित श्रेष्ठ ३९ बल खेल्दै ५ चौका र २ छक्कासहित ३९, रशिद खान ४२ बल खेल्दै समान ३ चौका र छक्कासहित ४४, गुलशन झा २८ बल खेल्दै समान १ चौका र छक्कासहित २३ रन बनाउन सफल भए । करण केसीले ६ रन बटुले । एपीएफका कमलसिंह ऐरीले १० ओभरमा १ मेडन राख्दै ६३ रन र अमरसिंह रौटेलाले ५ ओभरमा ४३ रन खर्चेर २–२ विकेट लिए । नन्दन यादव, कप्तान रोहित पौडेल र युवराज खत्रीको नाममा १–१ विकेट रह्यो ।
नन्दन र कमलले नवौं विकेटमा ४९ रन जोडे पनि एपीएफ ४४ ओभरमा १ सय ७० रनमै अलआउट भयो । नवौं नम्बरमा ब्याटिङ गरेका नन्दन ५५ बल खेल्दै समान ३ चौका र छक्कासहित ४४ रनमा अविजित रहे । कमलले ३२ बल खेल्दा २ चौका र ३ छक्का प्रहार गरी ३५ रन जोडे । दीपक बोहरा ४, आसिफ शेख १८, रोहित ११, सन्दीप २४, पूरन बिक २०, युवराज र कमल १–१ तथा लोकेश बम २ रनमा आउट भए ।
पुलिसबाट ललित राजवंशीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै २८ रन खर्चे । करणले ८ ओभरमा ३ मेडन राख्दै २१, रशिदले ९ ओभरमा १ मेडन राख्दै ४९ र प्लेयर अफ द म्याच दिनेशले ८ ओभरमा १ मेडन राख्दै ३६ रन खर्चेर २–२ विकेट लिए । सागर ढकालको नाममा १ विकेट थियो ।
बागमतीको पहिलो जित
ओपनर आशुतोष घिरैया र इशान पाण्डेको अर्धशतकप्रेरित बागमती प्रदेशले मूलपानीस्थित तल्लो मैदानमा पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ९४ रन बनायो । जवाफमा गण्डकी प्रदेश ३२ ओभरभित्र १ सय २४ रनमै अलआउट भयो ।
प्लेयर अफ द म्याच इशानले ६१ बलमा ७१ रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे । आशुतोषले ८७ बलमा ९ चौकासहित ५९ रन बनाए । आशुतोष र शुभ कंसाकारले पहिलो विकेटमा ९ ओभरभित्रै ६४ रन जोडेका थिए । शुभले २८ बल खेल्दा २ चौका र ४ छक्कासहित ४४ रन बनाए ।
शिवम तिवारी १८, पवन थापा ४, उत्तम थापामगर ४७ बल खेल्दै १ चौकासहित ३०, विवेक रानामगर १६ बलमा २ छक्कासहित २७ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने १७ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरेर २६ रनमा अविजित रहे । सुवास खत्री ५ रनमा आउट भए । गण्डकीका कमल परियारले १० ओभरमा ५६ रन खर्चेर २ विकेट तथा विपिन खत्री, अंकित न्यौपाने, सिब्रिन श्रेष्ठ र सुवास भण्डारीले १–१ विकेट लिए ।
ओपनर अर्जुन कुमालले ७४ रन बनाए पनि गण्डकी सस्तैमा अलआउट भयो । अर्जुनले ९० बल खेल्दै ११ चौका प्रहार गरे । दोहोरो स्कोर बनाउने अर्का खेलाडी सुवास थिए । उनले ४८ बलमा समान १ चौका र छक्कासहित २९ रन बनाए । ओपनर गौरव बिकसहित वंश क्षेत्री, सिब्रिन, दिनेश बुढामगर र कमल खाता नखोली आउट भए भने दीपक डुम्रे, कप्तान विपिन खत्री र कृष्ण पौडेल २–२ रन मात्र बटुल्न सफल भए ।
बागमतीका रिजन ढकालले ३ विकेट लिए । उनले ८ ओभरमा २ मेडन राख्दै ३१ रन खर्चे । सन्दीपले ९.५ ओभरमा १ मेडन राख्दै ३१ र इशानले ३ ओभरमा ६ रन खर्चेर २–२ तथा दयानन्द मण्डल र सुवासले १–१ विकेट लिए । बुधबार जनकपुरमा कर्णाली र कोशी प्रदेश तथा वीरगन्जमा मधेश प्रदेश र सुदूरपश्चिमबीच खेल हुनेछ ।
