विदेशी खेलाडीको श्रम स्वीकृतिका लागि समयमै आफ्नोतर्फबाट प्रक्रिया पूरा गरे पनि काम नभएको संकटाको भनाइ छ ।
काठमाडौँ — ए डिभिजन क्लब संकटाले पुरुषको राष्ट्रिय लिग र महिलाको सहिद स्मारक लिग स्थगित भएपछि आफ्नो क्लबलाई आर्थिक घाटा भएको जनाएको छ ।
विदेशी खेलाडीको श्रम स्वीकृतिमा विवाद भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुवै प्रतियोगिता स्थगित गरेको थियो । सोमबार पत्रकार सम्मेलन गर्दै संकटा क्लबले आफूहरू फुटबलको विकासमा निरन्तर लागे पनि नियामक निकायबाट अन्यायमा परेको जनाएको थियो । दुवै लिगमा श्रम स्वीकृति नलिएका विदेशी खेलाडी खेल्ने नपाउने भएपछि स्थिति जटिल बनेको थियो ।
अध्यागमन विभागले विदेशी खेलाडीलाई श्रम स्वीकृति लिएर खेल्न अनिवार्य गरेको थियो । तर संकटाले पनि विदेशी खेलाडीको श्रम स्वीकृतिका लागि समयमै आफ्नोतर्फबाट प्रक्रिया पूरा गरे तापनि काम नभएको दाबी गरेको छ । संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले दुई साता कुर्ने र त्यसबीच पनि लिग सुरु नभएमा विदेशी खेलाडीलाई घर पठाउन बाध्य हुने जानकारी गराए ।
