५५ केजी तौलसमूहमा शितलनगर फिट एन्ड जिम लुम्बिनीका सुनिल आले विजेता भए । किंग्स अफ फिटनेसका सागर बिके (रूपन्देही) ले दोस्रो र फिट २४ फिटनेसका अर्जुन भट्ट (सुदूरपश्चिम) ले तेस्रो भए ।
बुटवल — नेपाल व्यायाम मन्दिर काठमाडौंका क्षितिज थापाले बुटवलमा मिस्टर रामापिथेकस पुरुष बडीबिल्डिङ च्याम्पियनसिपको उपाधि जितेका छन् । उनी ७० केजीभन्दा माथि तौलका विजेता हुन्। महिला एथलेटिक फिजिकमा काठमाडौंकै डिभाइन फिजिकल फिटनेसकी शिला ठकुरी विजेता बनिन् । मिस्टर रामापिथेकस क्षितिजले २ लाख रुपैयाँसहित ट्रफी जिते । उनले विभिन्न तौल ६ समूहमा ७० खेलाडीलाई पछि पारे ।
५५ केजी तौलसमूहमा शितलनगर फिट एन्ड जिम लुम्बिनीका सुनिल आले विजेता भए । किंग्स अफ फिटनेसका सागर बिके (रूपन्देही) ले दोस्रो र फिट २४ फिटनेसका अर्जुन भट्ट (सुदूरपश्चिम) ले तेस्रो भए । ६० केजीमा भक्तपुरका सुरेश दुवाल (ट्रान्क्विलिटी स्पा) ले स्वर्ण जिते । लुम्बिनीका राजेन्द्र सुनार (फिटनेस टाइम सैनामैना) दोस्रो र काठमाडौंका धर्मराज खापुङ (बी एन्ड एल फिटनेस) तेस्रो भए ।
नवलपरासीका नमराज डुम्रे (भुमही जिम एन्ड फिटनेस) ले ६५ केजी समूहमा स्वर्ण जिते । डाइनेस्टी फिटनेसका योगेश गुरुङ (रूपन्देही) दोस्रो र डिभाइन फिजिकल फिटनेस काठमाडौंका नाम्गेल लामा तेस्रो भए । मिसाका फिटनेस लुम्बिनीका माधव सुवेदी ७० केजी समूहको स्वर्ण जिते । अल्टीमेट जिमका अनिश रसाइली दोस्रो र पावरफुल फिजिकल फिटनेसका सुसन श्रेष्ठ तेस्रो भए । त्यस्तै ७० केजीभन्दा माथि तौलमा व्यायाम मन्दिरका क्षितिज थापा विजेता भए । प्लाटिनम जिमका दीपजंग रोका मगर दोस्रो र फिटनेस मन्त्रका सुरज डंगोल तेस्रो स्थानमा रहे ।
महिला एथलेटिक फिजिकमा शिलाले स्वर्ण जित्दा लुम्बिनीकी चुनकुमारी पुन (भ्यालुभैरव जिम) दोस्रो र रविना कुँवर (शीतलनगर फिट एन्ड जिम) तेस्रो भएका थिए ।
विजेता खेलाडीलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्ड्ये, लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पिया, बुटवल उपमहानगरपालिका–५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठ, वडा नम्बर १९ का अध्यक्ष चन्द्रसिंह थापा, रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेसका अध्यक्ष राजकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे ।
नगर प्रमुख पाण्ड्येले बुटवललाई खेलकुदको हव बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदको क्षेत्रमा करोडौं रकम छुट्टयाउँदै आएको भन्दै यस्ता प्रतियोगिताले बुटवलको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
आयोजक संघका अध्यक्ष श्रेष्ठले बुटवलमा राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता सम्पन्न गर्ने आफूहरूको १० वर्षअघिको सपना पूरा भएको बताए । सोही अवसरमा शारीरिक सुगठन खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने सरोज श्रेष्ठ (मरणोपरान्त, प्रतापकाजी वरिया, श्याम श्रेष्ठ र निर्मला महर्जनलाई ताम्रपत्रसहित सम्मानित गरिएको थियो ।
