लगातार दोस्रो वर्ष कान्तिपुर म्याक्सले विश्व क्रिकेटको सबैभन्दा ठुलो र ग्लामर्स लिग प्रत्यक्ष प्रसारण गर्न लागेको हो । ब्रोडकास्टिङ टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले गरेको छ ।
What you should know
काठमाडौं — कान्तिपुर म्याक्सले इन्डियन प्रिमियर लिग (आईपीएल) प्रत्यक्ष प्रशारण गर्ने भएको छ । लगातार दोस्रो वर्ष कान्तिपुर म्याक्सले विश्व क्रिकेटको सबैभन्दा ठुलो र ग्लामर्स लिग प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।
सन् २००८ बाट सुरु भएको आईपीएलको १९औं संस्करण शनिबार सुरु हुँदैछ ।
पहिलो दिनको खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेङलुरुले एम चिन्नास्वामी स्टेडियममा सनराइजर्स हैदराबादको सामना गर्दैछ ।
कान्तिपुर म्याक्स वान र टुले आईपीएलको सम्पूर्ण खेल प्रत्यक्ष प्रसारण गर्नेछ र नेपालीको घर घरमा आईपीएल पुग्ने छ । गत वर्ष पनि कान्तिपुर म्याक्सले आईपीएलको सबै ७४ खेल प्रत्यक्ष प्रसारण गरेको थियो । खेल सुरु हुनुअघि म्याच प्रिभ्यु राखिने कान्तिपुर मिडिया ग्रुपले जनाएको छ ।
कान्तिपुर म्याक्स आईपीएलको खेल प्रत्यक्ष प्रसारण गर्ने पहिलो नेपाली च्यानल हो । आईपीएलको प्रत्यक्ष प्रसारणले नेपाली दर्शकलाई थप उत्साहित बनाउने अपेक्षा कान्तिपुर म्याक्सले राखेको कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले मंगलबार आयोजित कार्यक्रममा जनाए । ‘विश्वका सबै प्रमुख स्पोर्टस इभेन्टलाई ल्याउने हाम्रो प्रयास जारी छ, प्रिमियर स्पोर्टसलाई म्याक्सबाट देखाइरहेका छौं,’ स्वाँरले भने ।
ब्रोडकास्टिङ टाइटल पार्टनर एक्स्ट्रिम रहेको छ भने पावर्ड बाई लेमिनार टायल्स एन्ड मंगलम पाइप हुनेछ । त्यसका लागि कान्तिपुर मिडिया ग्रुपले टाइटल पार्टनर एक्स्ट्रिमसँग टाइटल पार्टनर तथा पावर्ड बाईका लागि लुम्बिनी सेरामिक्स र मंगलम इन्डस्ट्रिजसँग प्रायोजन सम्झौता गरेको छ ।
कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसी तथा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सकी बिजनेस हेड सोनिया राणा, लुम्बिनी सेरामिक्सका प्रमुख श्याम खेतान र मंगलम इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
आईपीएल जस्तो ठुलो इभेन्ट ल्याउन बिजनेस हाउसको ठुलो योगदान रहेको चर्चा गरे । एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सकी बिजनेस हेड राणाले खेलकुदमा निरन्तर माया र प्रेम भएकोले खेलकुदका धेरै इभेन्टमा सहकार्य गर्दै आएको जनाइन् । लुम्बिनी सेरामिक्सका प्रमुख खेतानले आफु विगतमा क्रिकेटसँग जोडिएको कारण कान्तिपुरमार्फत आइपीएलसँग जोडिन् लागेको बताए ।
मंगलम इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत चुरिवालले १७ वर्षदेखि क्रिकेटमा आफ्नो कम्पनीले सहकार्य गर्दै आएको र अहिले त्यसलाई निरन्तरता दिन लागेको जनाए ।
कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अफिसर सुरजसिंह ठकुरीले नेपाली होस वा विश्वका ठुलो इभेन्ट म्याक्समा प्रत्यक्ष प्रसारण गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको जनाए ।
कान्तिपुर म्याक्सले विश्वका ठुला खेलकुद इभेन्टहरू प्रत्यक्ष प्रसारण गर्दै आएको छ । कान्तिपुर म्याक्सले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) ले प्रत्यक्ष प्रसारण गरेको थियो ।
कान्तिपुर म्याक्समा हाल इंग्लिस प्रिमियर लिग (ईपीएल)का खेल प्रत्यक्ष प्रसारण भइरहेको छ । यस्तै यसअघि विम्बल्डन टेनिससहित नेपालका फुटबल, फुटसल, भलिबल लिगहरू प्रत्यक्ष प्रसारण गरेको थियो ।
हालैमात्र भारत र श्रीलंकामा भएको ट्वान्टी–२० विश्वकप कान्तिपुर म्याक्सले नेपाली र इंग्लिस कमेन्ट्रीका साथ प्रत्यक्ष प्रसारण गरेको थियो । आईपीएल भने इंग्लिस कमेन्ट्रीमा मात्र आउने स्वाँरले जनाए ।
