माल्दिभ्सको मालेस्थिति नेसनल स्टेडियममा भएको खेलमा नेपालले दस खेलाडीमा सीमित भुटानलाई २–१ ले हराएको हो ।
काठमाडौँ — नेपालले यू–२० च्याम्पियनसिपमा सोमबार विजयी सुरुआत लिएको छ । माल्दिभ्सको मालेस्थिति नेसनल स्टेडियममा भएको खेलमा नेपालले दस खेलाडीमा सीमित भुटानलाई २–१ ले हराएको हो । यस जितसँगै नेपालले समूह 'ए'मा तीन अंक बटुलेको छ । भुटान भने शून्य अंकमा रह्यो ।
नेपालका लागि सुजन डंगोलले पाँचौं मिनेटमा गोलको खाता खोले । खेलको १४ औं मिनेटमा नेपाली गोलरक्षक पेम्बो नोर्बुमाथि फल गरेपछि थिनले यजर दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे । सुभाष बामले ५२ औं मिनेटमा दोस्रो गोल थपे ।
यस्तोमा नेपाल सहज जितर्फ अग्रसर देखिएको थियो । तर, डुन्डेले ८२ औं मिनेटमा भुटानका लागि एक गोल फर्काए र खेल रोमाञ्चक मोडमा पुगेको थियो । यसअघि खेलमाथि नेपालको पूर्ण नियन्त्रण रहे पनि भुटानले एक गोल फर्काएपछि दबाबमा आएको थियो ।
अब नेपालले बुधबार हुने खेलमा श्रीलंकाको सामना गर्नेछ । यो समूहमा आयोजक माल्दिभ्स पनि रहेको छ ।
