पाम र एमएमएसीलाई जुडोको ट्रफी

पाम जुनियर र एमएमएसी क्योडटमा च्याम्पियन भएको हो ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

Judo trophy for Palm and MMAC

काठमाडौं — बन्दी सहायता नियोग (पाम) र एमएमएसीले नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा टिम च्याम्पियन ट्रफी जितेका छन् । पाम जुनियर र एमएमएसी क्योडटमा च्याम्पियन भएको हो ।

केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा पामले ४ स्वर्ण र १ रजत जित्यो । २ स्वर्णसहित बंगलादेश क्रिरा शिखा प्रतिष्ठान दोस्रो र दाङ जुडो डोजो १ स्वर्ण र ३ रजतसहित तेस्रो भए ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको क्याडेटमा टिम च्याम्पियन एमएमएसीले ६ स्वर्ण, ५ रजत र ८ कांस्य जित्यो । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसहित पाम दोस्रो भयो । तेस्रो स्थानको पेल्खिल डोजो क्लब भुटानले ३ स्वर्ण, १ रजत र २ कांस्य जित्यो ।

जुनियर क्याडेट दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए ।

बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होक्काइडो, जापान) को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको जुनियर पुरुषमा पामका सविनकुमार दियाली र महिलामा बंगलादेशकी फबिहा बुस्रा उत्कृष्ट खेलाडी चुनिए ।

क्याडेट पुरुषमा एमएमएसीका प्रिन्स बिक र महिलामा भुटानकी तान्दिन दोर्जी वाङ्मो उत्कृष्ट खेलाडी चुनिए । आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता उत्कृष्ट चारैले जनही ५ हजार पुरस्कार प्राप्त गरे । कविराम घर्ती मगर उत्कृष्ट निर्णायक बने ।

अन्तिम दिन जुनियरतर्फ ९ स्पर्धाको फाइनल भयो । पुरुष ५५ केजीमुनि एमएमएसीका शिव बराइली, ६६ केजीमुनि पामका दिपेश गुरुङ, ८१ केजीमुनि रेसन बस्नेत, ९० केजीमाथि गण्डकी जुडोका विज्ञानटी खत्री, ६० केजीमुनि पामका सविनकुमार दियाली र ७३ केजीमुनि बंगलादेश क्रिराका शाहिन अहमदले स्वर्ण जिते । महिला ४४ केजीमुनि पामकी रमा समत, ५२ केजीमुनि पामकै निशा श्रेष्ठ र ७० केजीमाथि बंगलादेश क्रिराकी फबिहा बुस्रा पहिलो भए ।

जुडोका संस्थापकमध्ये एक खड्गबहादुर दाहाललाई २५ हजार नगदसहित सम्मान गरिएको थियो । 

कान्तिपुर

Link copied successfully