प्रथम बटौली कप : एमएसएमटी र खुकुरी विजयी

एमएसएमटीले रेस्पोन्स टिम लुम्बिनीलाई ७ विकेट र खुकुरीले नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमीलाई ८ रनले हराएका हुन् ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

First Batauli Cup: MSMT and Khukuri win

What you should know

भैरहवा — यहाँ सञ्चालन भइरहेको प्रथम बटौली कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार एमएसएमटी क्रिकेट एकेडेमी नैतनवा र लुम्बिनी खुकुरी क्लब विजयी भएका छन् । एमएसएमटीले रेस्पोन्स टिम लुम्बिनीलाई ७ विकेट र खुकुरीले नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमीलाई ८ रनले हराएका हुन् ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको रेस्पोन्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १ सय २८ रन जोड्यो । उसका लागि रामजन अलीले ३०, करम हुसेनले २९, नितिन त्रिपाठीले २० र अंगद यादवले १९ रन बनाए । एमएसएमटीका अन्स सिंहले ३, प्रधुमन निषाले २ तथा रित्तिक, अंकु यादव र राज यादवले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा एमएसएमटीले १८ ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आर्यन अग्रहरीले ४७, अर्मन खानले अविजित ३०, रोहित यादवले नटआउट २१ र कमरन खानले १० रनको योगदान गरे । बलिङमा रेस्पोन्सका नितिन त्रिपाठी, अजय गौतम र करम हुसेनले समान १–१ विकेट लिए । खेलमा आर्यन अग्रहरी प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको खुकुरीले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर ९२ रन बनायो । उसका लागि इकलाख अहमद वारिसले १८, सुमन पाण्डेले १५, बैतुल्लाह खानले ११ र पिन्टु साहनीले १० रन बनाए । बलिङमा नेपथ्यका लक्ष्मण कुमाल र सागर भण्डारीले ३–३ तथा प्रवीण ढकाल र तुल्सीराम भण्डारीले २–२ विकेट लिए ।

९३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपथ्य २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । उसलाई सस्तैमा रोक्न बलिङमा खुकुरीका इकलाख अहमद वारिस र पिन्टु साहनीले २–२ तथा रोशन गौतम, बैतुल्लाह खान र जितेन्द्र केवटले १–१ विकेट हात पारे । नेपथ्यका प्रतीक भट्टराईले २४, लक्ष्मण कुमालले २२ र आशुतोष पाण्डेले १४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । खेलमा इकलाख अहमद वारिस प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

चैत १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टिम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २५ हजार प्राप्त गर्नेछ ।

कान्तिपुर

Link copied successfully