एन्फाले झूट बोल्यो : राखेप  

हङकङसँगको खेल स्थगित गरेपछि नेपाली फुटबल थप संकटमा 

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

ANFA lied: NRC

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच चलिरहेको टकराबबीच आइतबार नयाँ मोड आएको छ । राखेपले प्रेस विज्ञप्ति नै जारी गरेर भनेको छ, एन्फाले झूट बोल्यो ।

त्यस अगाडि एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै दशरथ रंगशालामा हुने भनिएको खेल अब स्थगित भएको जनाएको थियो । नत्र त्यो खेल चैत १२ मा हुनुपर्ने थियो । एन्फाले भनेको थियो, राखेपसँग फागुन १० को पत्रमार्फत मैत्रीपूर्ण खेलको सञ्चालनका लागि रंगशाला र त्यसको खेल मैदानका लागि स्वीकृति मागेका थियौं ।

चैत ३ मा रंगशालाको फ्लड लाइट्स, स्कोर बोर्ड र अन्य पूर्वाधार खेलका लागि उपलब्ध गराउन पत्र पठाएका थियौं । तर एन्फाको आग्रह र खेल सञ्चालनको स्वीकृति राखेपले नदिएको हुनाले त्यस खेल स्थगित गरिएको छ । त्यसलगत्तै राखेपले आफूले एन्फालाई लेखेका दुई पत्र पनि सावर्जनिक गरेको छ । त्यसमध्ये चैत ३ मा लेखिएको एउटामा भनिएको छ, फ्लड लाइट्स, साउन्ड सिस्टम, स्कोर बोर्ड र अन्य पूर्वाधारका लागि आफ्नो राष्ट्रिय वाणिज्य बैंकमा ४५ हजार रुपैयाँ जम्मा गर्नू ।

यस्तै राखेपले चैत ५ मा लेखेको पत्रमा प्रतियोगिताका लागि लाग्ने अनुमानित बजेट विवरण प्राप्त नभएको हुनाले ताकेता गरेको थियो । राखेपले त्यस क्रममा रंगशाला उपलब्ध गराउन केही सर्त पनि अगाडि सारेको थियो । राखेप स्रोतले भनेको छ, एन्फा देशमा फुटबल चलाउन असफल रहेपछि विवादमा तानिएको र अहिले हङकङविरुद्धको खेल स्थगित गरेर त्यसको दोष सरकारलाई दिएर ध्यान अन्यत्र मोड्न चाहेको बताएको छ ।

एन्फाको अर्ली इलेक्सन विवाद, एन्फा र राष्ट्रिय खेलकुद परिषद्बीचको टकराब तथा पुरुषको राष्ट्रिय लिग र महिलाको सहिद स्मारक लिग स्थगनबीच अहिले हङकङविरुद्धको खेल पनि नहुने भएको हो । 

राखेपलाई एन्फाको जवाफ

एन्फाले आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र लेख्दै चैत १३ मा हुने निर्वाचन रोक्न नसकिने बताएको छ ।

राखेपले यसअघि बिहीबार पत्र लेख्दै निर्वाचन स्थगित गरेर तीन दिनभित्र लिखित जवाफ दिन भनेको थियो । तर एन्फाले निर्वाचन रोक्न नसकिने मात्र भनेको छैन, राखेपलाई निर्वाचन सहजतापूर्वक सम्पन्न गर्न सहयोगका लागि अनुरोधसमेत गरेको छ । एन्फाले अबको निर्वाचन आफ्नो विधानविपरीत नभएको जिकिर गर्दै यो कार्यक्रम तय समयमा नभए फिफा र एएफसीले नेपाललाई प्रतिबन्ध लगाउने दाबी पनि गरेको छ ।  

कान्तिपुर

Link copied successfully