आयोजक फिखिम भेट्रान्स क्लबका अनुसार प्रतियोगिता पाँचथरको हिलिहाङ गाउँपालिकास्थित जोरपोखरी माविको खेल मैदानमा सञ्चालन गरिने भएको हो ।
पाँचथर — तेस्रो फिदिम भेट्रान्स गोल्डकप चैत २५ देखि २८ सम्म सञ्चालन हुने भएको छ । आयोजक फिखिम भेट्रान्स क्लबका अनुसार प्रतियोगिता पाँचथरको हिलिहाङ गाउँपालिकास्थित जोरपोखरी माविको खेल मैदानमा सञ्चालन गरिने भएको हो ।
प्रतियोगितामा भारतको १ र नेपालका ७ सहित ८ टिम सहभागी हुने आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । जहाँ आयोजक फिदिमसहित इलाम, झापा, मोरङ, सुनसरी र भारतका टिमले सहभागिता जनाउने पक्का भएको छ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए । उनका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । साथै विभिन्न विधागत पुरस्कारका लागि ३ हजार रुपैयाँका दरले नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी खेलाडी र अफिसियलहरूको १ लाख रुपैयाँसम्मको बीमा तथा खानबस्नको व्यवस्था गरिएको छ ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बहुधार्मिक पर्यटकीय क्षेत्र जोरपोखरीमा प्रतियोगिता गर्न लागिएको आयोजकको भनाइ छ । १९ लाख ७० हजार रुपैयाँको अनुमानित लागतमा प्रतियोगिता सम्पन्न गर्ने तयारी आयोजकको छ ।
