प्रो एममा ७५ जना एमेच्योर र १५ जना प्रोफेसनल गरी कुल ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
पोखरा — प्रो सञ्जय लामाको टिमले १ सय ३९ अंकसहित सूर्य नेपाल वेस्टर्न ओपन प्रो एमको उपाधि जितेको छ । सञ्जयले ३४ अंक बनाउँदा एमेच्योर खेलाडीहरू सत्यजोत रानाले ३९, गीता गुरुङले ३५ र टेन्डी शेर्पाले ३१ अंक बनाए ।
प्रो रवि खड्काको टिम १ सय २२ अंकसहित दोस्रो भयो । रविले ३०, सोम गुरुङ र फुर्साङ लामाले समान ३१ तथा श्याम तामाङले ३० अंक जोडे । प्रो भुवन नगरकोटीको टिम १ सय १८ अंकसहित तेस्रो भएको छ । भुवनसँगै एमेच्योर खेलाडीहरू सुजन थापा र रञ्जन थापाले समान ३० तथा कमल सुवेदीले २८ अंक बनाए ।
महिलातर्फ उत्कृष्ट स्कोर गीता गुरुङले निकालिन् । उनले ३५ अंक जोडिन् । प्रतियोगितामा लङ्गेस्ट ड्राइभको उपाधि जय न्युगेन्ट र क्लोजेस्ट टु दी पिनको उपाधि सुबोध थापाले जिते । शुक्रबार सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका थिए । उनले समग्रमा ३–अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल भएका थिए । सञ्जय लामा दोस्रो र एमेच्योर राहुल विश्वकर्मा तेस्रो भएका थिए ।
सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक खेलाडीहरूले कुल १० लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । भुवनले १ लाख ७० हजार, दोस्रो भएका सञ्जयले १ लाख २५ हजार र प्रोतर्फ तेस्रो भएका शुक्रबहादुर राईले नगद १ लाख प्राप्त गरेका थिए ।
प्रो एमका विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट र कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष भक्तराज गुरुङले पुरस्कार वितरण गरे । प्रो एममा ७५ जना एमेच्योर र १५ जना प्रोफेसनल गरी कुल ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
