अन्तर्राष्ट्रिय ताइची डेमा नेपालका एक सय खेलाडीहरुको संयुक्त प्रदर्शनी

मार्च २१ तारिखका दिन विश्वभर ताइची दिवस मनाउने क्रममा नेपाल ताइचीछ्वान महासंघ, चाइना कल्चर सेन्टर र नेपाल अरनिको समाजले संयुक्त रूपमा कार्यक्रम आयोजनामा गरिएको हो ।

चैत्र ७, २०८२

कान्तिपुर संवाददाता

Joint exhibition of 100 Nepali players on International Tai Chi Day

काठमाडौँ — पाटन दरबार संग्राहालयमा पहिलो अन्तर्राष्ट्रिय ताइची दिवस भव्यताका साथ मनाइएको छ । मार्च २१ तारिखका दिन विश्वभर ताइची दिवस मनाउने क्रममा नेपाल ताइचीछ्वान महासंघ, चाइना कल्चर सेन्टर र नेपाल अरनिको समाजले संयुक्त रूपमा कार्यक्रम आयोजनामा गरिएको हो ।

‘फिट फर लाइफ, गो फर ताइची’ भन्ने नाराका साथ मनाइएको दिवसमा नेपालका राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीहरूले विभिन्न विधाका १ सय भन्दा बढी खेलाडीले ताइची कला प्रदर्शनी गरेका थिए ।

जसमा पाटन संग्राहालय र ललितपुरको तर्फबाट आधारभूत ताइची प्रदर्शनी गरे भने नेपाल ताइची सेन्टरका खेलाडीहरूले बाफाउफु फर्म, ८ फर्म र १३ फर्म प्रस्तुत गरेका थिए । त्यस्तै दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण विजेता आङबाबु लामा, दोस्रो ताइची अन्तर्राष्ट्रिय प्रतियोगिताका रजत विजेता सुनिज श्रेष्ठ र आमिर लामाको ४२ फर्मको प्रस्तुत गरेका थिए ।

Joint exhibition of 100 Nepali players on International Tai Chi Day

त्यसमा साफका रजत विजेता खेलाडी मचारत्न महर्जनको ताइची सोर्ड प्रदर्शन विशेष देखिएको थियो ।  सोही अवसरमा चाइनिज उसु महासंघका पूर्व उपाध्यक्ष तथा बेइजिङ उसु इन्स्टिच्युटका अध्यक्ष ग्रान्ड मास्टर वु विनले कार्यक्रमको सफलताको भिडियो सन्देश पठाएका थिए । समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपालमा ताइची खेलका संस्थापक कर्मा लामालाई सम्मान गरे ।

उसुको प्रदर्शन पछि इनर मंगोलियन आर्टिस्ट ग्रुपले विभिन्न साङ्गीतिक प्रस्तुति दिएका थिए भने ताइचीका खेलाडी रिझा श्री महर्जनले भ्वाइलिन प्रस्तुति पेस गरेकी थिइन् । ८२ वर्षिया खेलाडी अन्नपूर्णा कुँवरको युवा खेलाडीहरूलाई प्रेरित गर्ने मन्तव्यले धेरैको ध्यान तानेको थियो । 

कार्यक्रममा नेपाल अरनिको समाजका अध्यक्ष सुशील प्रजापति, चाइना कल्चर सेन्टरका डेप्युटी डाइरेक्टर लिउ चान फिङले ताइचीको विशेषता बारे जानकारी दिएका थिए । सोही अवसरमा नेपाल ताइचीछ्वान महासंघका अध्यक्ष समेत रहेका प्रशिक्षक मचारत्न महर्जनले नेपालको विभिन्न क्षेत्रमा पुगेर स्वस्थ नागरिक उत्पादन गर्न ताइची खेल विस्तार गर्ने महासंघको योजना रहेको बताए ।

उनको योजनालाई समर्थन गर्दै समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नागरिकलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउने ताइची खेललाई विस्तार गर्न महानगरपालिकाबाट सहयोग हुने प्रतिबद्धता जनाएका थिए।  

उनले भने, “ मैले विश्वको धेरै ठाउा घुम्दा ताइची गरेका बालक देखि बद्धसम्मलाई देखो। यस्ता स्वस्थ नागरिक उत्पादन गर्ने खेललाई ललितपुर देखि देशका अन्य स्थानमा पुर्‍याउन महानगर हात बढाउन तयार छ।”

नेपाल ताइचीछ्वान महासङ्गले काठमाडाौको विभिन्न स्थानमा ताइची प्रशिक्षण गर्दै आएको छ।

कान्तिपुर

Link copied successfully