चौथो अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथनमा आर्मीका रोकाया च्याम्पियन

नेपाल ओलम्पिक कमिटीको अगुवाइमा शनिबार आयोजित म्याराथनमा रोकाया निर्धारित ४२ दशमलव १९५ दूरी २ घण्टा १७ मिनेट ५५ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।

चैत्र ७, २०८२

मनोज पौडेल

Army's Rokaya champions in the 4th International Lumbini Peace Marathon

What you should know

लुम्बिनी — त्रिभुवन आर्मी क्लबका विनोद रोकाया लुम्बिनीमा आयोजित चौथो अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथनमा च्याम्पियन बनेका छन् । नेपाल ओलम्पिक कमिटीको अगुवाइमा शनिबार आयोजित म्याराथनमा रोकाया निर्धारित ४२ दशमलव १९५ दूरी २ घण्टा १७ मिनेट ५५ सेकेन्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।

प्रथम भएका रोकायाले ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार र स्वर्ण पदक प्राप्त गरे । आर्मी क्लबकै सुशीलकुमार शाहीले दोस्रो स्थान प्राप्त गरे । उनले निर्धारित दूरी २ घण्टा १८ मिनट १६ सेकेण्डमा पार गरे । उनले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । आर्मी क्लबकै नरेन्द्र सिंह रावत तेस्रो भए । उनले निर्धारित दूरी २ घण्टा १९ मिनट ५८ सेकेण्डमा पार गरे । उनले १ लाख ५० हजार रुपैयाँ प्राप्र गरे ।

महिला तर्फको २१ किलोमिटर हाफ म्याराथनमा पनि आर्मी क्लबकै खेलाडीको वर्चस्व रह्यो । २१ किलोमिटर दूरीको हाफ म्याराथनतर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने च्याम्पियन भइन् ।  उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यसअघि विभिन्न स्पर्धा जित्दै आएकी धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो स्थान हासिल गरिन् । उनले १ लाख रुपैयाँ प्राप्त गरिन् ।आर्मीकी निशा सार्कीले तेस्रो हुँदै ८० हजार रुपैयाँ प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले जानकारी दिए ।

ओलम्पिक कमिटीको समन्वयमा भएको लुम्बिनी म्याराथनको आयोजकमा नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड रहेका छन् । म्याराथनमा नेपालसहित भारत, अमेरिका, नाइजेरिया लगायत देशबाट ६ सय बढी  धावक सहभागी थिए । लुम्बिनी स्क्वायरबाट सुरु भएको ४२.१९५ किलोमिटरको दौड पुनः लुम्बिनीमै पुगेर समापन भएको थियो ।

शान्ति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमि समावेश गरिएको थियो । प्रतियोगिताका विजेताहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य-सचिव दीपक श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले पुरस्कार वितरण गरेका थिए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully