लन टेनिसका ११ बिधामा प्रतिस्पर्धा गर्न देशभरबाट २ सयभन्दा बढी खेलाडी सहभागी हुने
What you should know
बुटवल — रूपन्देही लन टेनिस संघको आयोजनामा १६ चैतदेखि बुटवलमा आठौं बुटवल राष्ट्रिय खुला लन टेनिस तथा चौथो मेयरकप प्रतियोगिता हुने भएको छ । संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो ।
प्रतियोगितामा पुरुष तथा महिला एकल र डबलगरी कुल ११ बिधामा प्रतिस्पर्धा हुनेछ । संघका अध्यक्ष विष्णुप्रसाद चापागाईका अनुसार एकलतर्फ पुरुष/महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसगरी ६ बिधा रहने छ ।
डबल्स तर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसगरी ५ बिधागरी कुल ११ बिधा रहेको अध्यक्ष चापागाईं बताए ।
प्रतियोगितामा पुरुष/महिला एकलको विजेताले नगद ६०/६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष चापागाईंले बताए ।
प्रतियोगिता २० चैतसम्म चल्ने रूपन्देही लन टेनिस संघको बुटवल–११, देविनगरस्थित टेनिस कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि २६ लाख ६७ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको संघका सचिव मनोज नेपालले बताए ।
प्रतियोगितामा देशभरका २ सयभन्दा बढी पुरुष तथा महिला खेलाडीको सहभागिता हुने संघले जनाएको छ ।
संघले २०७५ सालदेखि बुटवलमा निरन्तर राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता गर्दै आइरहेको छ ।
