राष्ट्रिय महिला भलिबलः केशवलाल प्रतिष्ठान र न्यू डाइमण्ड विजयी

चैत ८ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले ३ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

चैत्र ५, २०८२

प्रताप विष्ट

National Women's Volleyball: Keshav Lal Pratishthan and New Diamond win

What you should know

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-१० टिसिएन चौरमा संचालन भइरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र न्यू डाइमण्ड क्लब विजयी भएका छन् ।

पहिलो खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले जनशक्ति युवा क्लब मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । प्रतिष्ठानले मधेश प्रदेशलाई हराउने क्रममा २५–१०, २५–१० र २५–१३ को जित निकालेको हो । दोस्रो खेलमा न्यू डाइमण्ड क्लव सामु मकवानपुर जिल्ला भलिबल संघ निरीह देखियो । डाइमण्डले मकवानपुर भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । डाइमण्डले २५–६, २५–६ २५–११ को सेटमा हराएको हो । 

मकवानपुर उद्घाटन खेलमा लुम्बिनी प्रदेशको स्टेप भलिबल टिमसँग पनि पराजित भएको थियो । योसँगै मकवानपुर खेलबाट बाहिरिएको छ । जारी प्रतियोगितामा शुक्रबार न्यू डाइमण्ड क्लब र स्टेप भलिबल क्लबको बीचमा पहिलो खेल हुनेछ । दोस्रो खेल केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र ब्राइट फ्युचर स्पोर्ट क्लब खेल्नेछन् । 

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत बुधबारबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । सहभागी ६ टिमलाई २ समूहमा विभाजन गरी खेलाइएको छ । समूहको विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्नेछन् । चैत ८ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले ३ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । 

सेमिफाइनलमा पराजित हुने दुई टिमले  ५०/५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा अन्य विधागत उत्कृष्ट खेलाडीले नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए । 

महोत्सव अन्तर्गत यसअघि जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता, जिल्लास्तरीय महिला र पुरुष १० किलोमिटर दौड प्रतियोगिता, जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता र जिल्लास्तरीय कराँते प्रतियोगिता सम्पन्न भइसकेको छ । चैत ११ देखि १३ सम्म राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुनेछ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully