पुरस्कार वितरण समारोह बहिष्कार गर्ने दुई विद्यालयलाई कारबाही गर्न नगर प्रमुखको निर्देशन

पुरस्कार वितरण कार्यक्रममा नगर प्रमुख पौडेलले खेलमा जित–हार हुनु स्वाभाविक भएको उल्लेख गर्दै विवादका कारण पुरस्कार वितरण समारोहमै अनुपस्थित हुनु दुःखद भएको बताए । उनले अनुशासनहीन गतिविधिमा संलग्न विद्यालयलाई कारबाही गर्दै पुरस्कार नदिने बताए ।

चैत्र ५, २०८२

मनोज पौडेल

Mayor directs action against two schools that boycotted the award ceremony

कपिलवस्तु — कपिलवस्तु नगरपालिकाद्वारा आयोजित आठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको पुरस्कार वितरण समारोह बहिष्कार गर्ने दुई विद्यालयमाथि अनुशासनको कारबाही गर्न नगर प्रमुख सुदीप पौडेलले निर्देशन दिएका छन् ।

चैत १ गतेदेखि ४ गतेसम्म सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण समारोहमा प्रथम र चौथौ भएका कनकमुनि मावि र बुद्धपद्म माविका खेलाडी अनुपस्थित भई बहिष्कार गरेपछि नगर प्रमुखले कारबाही गर्न निर्देशन दिएका हुन् ।

प्रतियोगिताका सबै खेल सम्पन्न भएपछि पुरस्कार वितरणको तयारी भइरहेका बेला बुद्ध पद्म माविका खेल शिक्षक र खेलाडीले कनकमुनि माविका दुई खेलाडी विद्यालयबाहिरका भएको दाबी गर्दै मौखिक उजुरी गरेका थिए । उजुरीपछि विवाद बढ्दै जाँदा दुई घण्टा ढिलो पुरस्कार वितरण समारोह सुरू भएको थियो । विवादले उग्र रूप लिएपछि दुवै विद्यालयले पुरस्कार वितरण समारोह बहिष्कार गरेका थिए । त्यसअघि आयोजक कपिलवस्तु नगरपालिकाले उजुरीको अध्ययन गरी कनकमुनि माविका खेलाडी आधिकारिक रहेको लिखित निर्णय गरेका थिए । 

Mayor directs action against two schools that boycotted the award ceremony

प्रतियोगितामा कनकमुनि माविले १५ स्वर्ण, ५ रजत र ३ कास्य पदक प्राप्त गरी प्रथम भएको थियो । राष्ट्रिय मावि बिकुलीले ३ स्वर्ण, ४ रजत र १० कास्यसहित दोस्रो स्थान र शीतला बक्स माविले ३ स्वर्णसहित तेस्रो स्थान प्राप्त गरेका थिए । बुद्धपद्म मावि २ स्वर्ण, ११ रजत र ४ कास्यसहित चौथो स्थानमा रहेको थियो ।

पुरस्कार वितरण समारोहमा दोस्रो हुने राष्ट्रिय मावि बिकुलीलाई नगद २० हजार रुपैयाँसहित उपविजेता कप तथा तेस्रो हुने शीतला बक्स माविलाई नगद १५ हजार रुपैयाँसहित कप प्रदान गरिएको थियो । प्रथम र चौथौ हुने कनकमुनी मावि र बुद्धपद्म माविले नगद पुरस्कार, सिल्ड र कप लिएनन् ।  

पुरस्कार वितरण कार्यक्रममा नगर प्रमुख पौडेलले खेलमा जित–हार हुनु स्वाभाविक भएको  उल्लेख गर्दै विवादका कारण पुरस्कार वितरण समारोहमै अनुपस्थित हुनु दुःखद भएको बताए । उनले अनुशासनहीन गतिविधिमा संलग्न विद्यालयलाई कारबाही गर्दै पुरस्कार नदिने बताए ।

समारोहमा वडा नम्बर १ का अध्यक्ष जाहिद खाँ, वडा नम्बर २ का अध्यक्ष प्रकाश गैरे, वडा नम्बर ४ का अध्यक्ष रवीन्द्रप्रसाद तिवारी, वडा नम्बर ५ का अध्यक्ष दिरेप चौधरी र तौलिहवा उद्योग वाणिज्य संघ अध्यक्ष गयादीन कुर्मीलगायतले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १८ माविका खेलाडी सहभागी थिए । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully