तेस्रो बागमती प्रदेश खेलकुद जेठ अन्तिम साता

बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड २०८३ जेठ १ देखि ३ सम्म गर्ने निर्णय गरेको प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य–सचिव दीपक लामाले जानकारी दिए ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Third Bagmati Province Games, last week of Jestha

काठमाडौँ — तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ अन्तिम साता हुने भएको छ । बुधबार काठमाडौंमा बसेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको २४ औं बोर्ड बैठकले तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ २४ देखि ३० सम्म आयोजना गर्ने निर्णय गरेको हो । बैठकले प्रथम बागमती पारा खेलकुद पनि आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड २०८३ जेठ १ देखि ३ सम्म गर्ने निर्णय गरेको प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य–सचिव दीपक लामाले जानकारी दिए । खेलकुद संग्रहालय स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तेस्रो बागमती प्रदेश खेलकुदमा फुटबल, भलिबल, कराते, आईटीएफ तेक्वान्दो, तेक्वान्दो, उसु, जुडो, फुलकन्ट्याक्ट कराते, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, एथलेटिक्स, बुद्धिचाल, पौडी र टेबलटेनिस गरी १५ खेलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा २ हजार ९ सय ५५ खेलाडी प्रतिस्पर्धी हुनेछन् ।

फुटबलमा ३ सय ६० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने ४० प्रशिक्षक तथा व्यवस्थापक एवं २० निर्णायक परिचालन हुनेछन् । भलिबलमा ३१२, करातेमा २१८, आईटीएफमा २१८, तेक्वान्दोमा २६२, उसुमा १५९, जुडोमा १३८, फुलकन्ट्याक्ट करातेमा १३०, क्रिकेटमा २२४, ब्याडमिन्टनमा ७८, बक्सिङमा १७०, एथलेटिक्समा ४५५, बुद्धिचालमा ७८, पौडीमा ७५ र टेबलटेनिसमा ७८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । तेस्रो बागमती प्रदेश खेलकुदका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन भएको सदस्य–सचिव लामाले बताए ।

राष्ट्रपति रनिङ सिल्डमा कराते, भलिबल, तेक्वान्दो, उसु, कबड्डी र एथलेटिक्सका १ हजार २ सय २२ खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully