सहिद स्मारक महिला लिगको पहिलो संस्करण आजदेखि

९ टिमले भाग लिने लिगमा बुधबार एनआरटीविरुद्ध संकटा र आर्मीविरुद्ध झापा भिड्ने

चैत्र ४, २०८२

हिमेश

The first edition of the Martyr's Memorial Women's League begins today

काठमाडौँ — नेपाली महिला लिग फुटबलको नाम अबदेखि सहिद स्मारक लिगसँग जोडिने भएको छ । एउटा फुटबल प्रतियोगिताका रूपमा सहिद स्मारक लिगको इतिहास आफैंमा असाध्यै धेरै लामो छ । अब यही नाममा महिला खेलाडीले पनि खेल्ने भएका छन् । 

कुल ९ टिमको सहभागिता रहेको सहिद स्मारक महिला लिग बुधबार सुरु हुँदै छ । पहिलो दिन च्यासलमा दुई खेल हुनेछ । एनआरटीविरुद्ध संकटा र आर्मीविरुद्ध झापा भिड्नेछन् । 

प्रतियोगितामा सहभागी हुने अन्य टिममा बागमती, पुलिस, एपीएफ, चर्च ब्वाइज र आएस पोखरा छन् । लिगको सुरुमा एकअर्काविरुद्ध खेल्नेछन्, राउन्ड रोबिनको आधारमा । यो चरणमा ३६ खेल हुनेछ् । त्यसको अन्त्यमा शीर्ष ६ टिम अर्को चरणमा प्रवेश गर्नेछन् । त्यसमा पनि राउन्ड रोबिनकै आधारमा १५ खेल हुनेछ । प्रतियोगिता यत्तिकैमा टुंगिने छैन । त्यसपछि चार शीर्ष टिमबीच एक क्वालिफायर र दुई इलिमिनेटर हुनेछ । र, अन्त्यमा फाइनल । 

The first edition of the Martyr's Memorial Women's League begins today

यसरी यसपल्टको प्रतियोगितामा कुल ५५ खेल हुनेछ । यस लिगमा एक टिम भने रेलिगेसनमा पर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको पहिलो चरणको खेल तालिका जारी गरिसकेको छ । यो चरणको खेल च्यासल, दशरथ रंगशाला र एन्फा कम्प्लेक्स गरी तीन स्थानमा हुनेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा मंगलबार आयोजित पोस्टम्याच कन्फ्रेन्समा सहभागी हुने टिममध्ये प्रमुखले उपाधिमाथि दाबेदारी प्रस्तुत गरे । 

उत्कृष्ट विभागीय टिम

यसपल्ट पनि उपाधिका लागि त्रिकोणात्मक भिडन्त हुनेछ । यसमा समावेश हुनेछन् तीनै विभागीय टिम । त्यसमध्ये पनि सबैभन्दा बलियो हुनेछ, एपीएफ । टोलीको बलियो उपाधि यात्रामा बाधा पुर्‍याउने काम गर्नेछ पुलिस र आर्मीले । एपीएफका मुख्य प्रशिक्षक जीवेश पाण्डे भन्छन्, ‘हामी यो प्रतियोगितालाई लिएर शारीरिक र मानसिक दुवै अर्थमा पूर्णतः तयार छौं । हामीले तयारी पनि उत्तिकै राम्रो गरेका छौं, घाइते खेलाडीको पनि समस्या छैनभन्दा हुन्छ ।’

एपीएफकी कप्तान अनिता बस्नेत आफ्नो टिमले उपाधिकै लागि खेल्ने दाबी गर्छिन् । उनी के मान्छिन् भने प्रतिस्पर्धा चर्को हुनेछ । उनी भन्छिन्, ‘हामीलाई उपाधि जित्न सजिलो नै हुने छैन । अब त विभागीय टिम मात्र बलिया छैनन्, विदेशी खेलाडीका कारण अन्य टिम पनि उत्तिकै सक्षम हुनेछन् ।’ 

पुलिसका सहायक प्रशिक्षक रविन श्रेष्ठको दाबी छ, यसपल्ट आफ्नो टिम एपीएफलाई बलियो चुनौती दिन सक्षम छ । उनले भने, ‘झापामा एपीएफको जित यात्रामा पूर्णविराम लगाउने पनि हामी नै हौं ।’ 

आर्मीका प्रशिक्षक राजु तामाङको पनि उस्तै तर्क छ । उनको टिम पनि एपीएफलाई बलियो चुनौती पेस गर्न सक्षम छ । उनी भन्छन्, ‘एपीएफविरुद्ध पछिल्ला खेलमा हामीले बलियो चुनौती दिएका थियौं, अब यो अझ बलियो हुनेछ ।’ 

यस्तोमा यसपल्टको लिगमा कसले जित्ने हो, त्यो धेरै अर्थसम्म यिनै विभागीय टिमबीचको खेलले तय हुनेछ । यो सबै समीकरणलाई भत्काउने दम राख्ने एउटा अर्को टिम पनि हुनेछ । त्यो हो, संकटा । 

विदेशी खेलाडीले बलियो संकटा

यसपल्टको लिगमा प्रत्येक टिमले चार विदेशी खेलाडी राख्न पाउनेछ । सम्भवतः तीनै विभागीय टिमले विदेशी खेलाडी खेलाउने छैनन् । ठ्याक्कै विदेशी खेलाडीमा भर परेर खेल्न तयार भएको टिम हो, संकटा । टोलीका मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारका अनुसार टिममा रहेका चार विदेशी खेलाडीमध्ये घानाका दुई, मोजाम्बिक र म्यानमारका एक–एक जना छन् । त्यसैले संकटाको खेल हेर्नलायक हुने अनुमान छ । 

प्रशिक्षक रवीन्द्र भन्छन्, ‘हामीले यसपल्टको प्रतियोगितामा दरिलो उपस्थिति जनाउने छौं । अहिलेसम्म टिमको प्रदर्शनप्रति हामी खुसी छौं । हाम्रो सुरुआती उद्देश्य शीर्ष ६ स्थानमा आउने हो, त्यसपछि शीर्ष चारमा । हाम्रो उद्देश्य उपाधिकै लागि खेल्ने हुनेछ ।’ त्यसपछि बाँकी टिमको उद्देश्य एउटै हुनेछ, सके शीर्ष ६ स्थानभित्र आउने, होइन भने रेलिगेसनबाट बच्ने । 

साफ च्याम्पियनसिपको तयारी

यो प्रतियोगिता भारतको गोवामा हुने वुमेन्स साफ च्याम्पियनसिप तयारीको रूपमा पनि हुनेछ । त्यसैले एकातर्फ यो प्रतियोगिता पुराना खेलाडीका लागि आफ्नो उपस्थिति देखाउने अवसर हुनेछ । अर्कोतर्फ नयाँ पुस्ताका लागि राष्ट्रिय लिगमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने अवसर रहनेछ । नेपाली महिला फुटबल पुस्तान्तरणको बाटोमा रहेको हुनाले यो लिगले त्यसको सहजकर्ताको भूमिका खेल्नेछ ।

हिमेश

Link copied successfully