न्युजिल्यान्डबाट १ टेस्ट, ५७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका कोलिन मुनरोसँग ४ सय ५० भन्दा बढी सबैखाले ट्वान्टी–२० खेलेको अनुभव छ, त्यसमा ६ शतक समावेश छ ।
काठमाडौँ — अमेरिकामा बस्दै आएका नेपालीको स्वामित्वमा रहेको जेबी ब्रुजेजले बेल्जियमको ईयू टी–२० का लागि बुधबार न्युजिल्यान्डका पूर्वब्याटर कोलिन मुनरोसँग सम्झौता गरेको छ ।
देब्रेहाते ३९ वर्षे मुनरो ट्वान्टी–२० लाई सुहाउँदा ब्याटरको रूपमा चिनिन्छन् । न्युजिल्यान्डबाट १ टेस्ट, ५७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका मुनरोसँग ४ सय ५० भन्दा बढी सबैखाले ट्वान्टी–२० खेलेको अनुभव छ, त्यसमा ६ शतक समावेश छ ।
ब्रुजेजका प्रमुख उत्सव सिग्देलले ड्राफ्टअघि दुई अनुभवी खेलाडीलाई लिन सकेकाले टोली सही दिशातर्फ अगाडि बढेको विज्ञप्तिमार्फत जनाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स (जेबी) सँग जोडिएको ब्रुजेजले यसअघि दक्षिण अफ्रिकाका रसी भान डेर डुसेनलाई पनि अनुबन्धित गरिसकेको छ ।
बेल्जियमको ईयु टी–२० का लागि नेपालका १८ खेलाडी ड्राफ्टमा रहेको जनाइएको छ ।
