एनओसीले सन् २०२२ देखि लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन गर्दै आएको छ ।
काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यही शनिबार लुम्बिनीमा चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन आयोजना गर्ने भएको छ ।
एनओसीले सन् २०२२ देखि लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन गर्दै आएको छ । यसपालि पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमि दौड (पुरुष/महिला), ५ किमि दौड (छात्रछात्रा), ५ किमि रन भेट्रान पुरुष गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ । ३ किमि खुला पिस वाकाथनको आयोजना पनि गरिनेछ । सबै इभेन्टमा गरी करिब १२ सय जनाले भाग लिने एनओसीले जनाएको छ ।
चौथा संस्करणमा कुल पुरस्कार राशि १७ लाख ६९ हजार रहेको छ । पुरुष म्याराथन विजेताले ३ लाख ५० हजार, दोस्रो हुनेले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा टपटेन धावकले क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार पुरस्कार पाउनेछन् ।
महिला हाफ म्याराथनमा विजेताले १ लाख ५० हजार, उपवजेताले १ लाख, तेसोले ८० हजार, चौथोले ५० हजार र पाँचौं स्थान प्राप्त गर्नेले ३० हजार पुरस्कार पाउनेछन् । अन्य विधाका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
एनओसीका उपाध्यक्ष तथा लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनका संयोजक अशोकरत्न वज्राचार्यले प्रत्येक वर्ष अप्रिल ६ मा विश्वभर मनाइने विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबाट लुम्बिनी पिस म्याराथन प्रेरित रहेको बताए ।
एनओसीले विगत चार वर्षदेखि खेलकुदमार्फत शान्ति, एकता र दिगो विकास प्रवर्द्धन गर्ने नेपालको प्रतिबद्धतालाई निरन्तरता दिने उद्देश्यअनुरुप युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा यो दौडको आयोजना गर्दै आएको हो ।
संयोजक वज्राचार्यका अनुसार लुम्बिनी पिस म्याराथन एनअोसीको एक प्रमुख कार्यक्रमका रूपमा स्थापित भएसकेको छ । लुम्बिनी पिस म्याराथनले लामो दुरीको दौडमा नेपालको स्तरलाई थप माथि लैजान र खेलाडीको हौसला बढाउन पनि सहयोग गर्ने अपेक्षा संयोजक वज्राचार्यको छ ।
गत संस्करणमा पुरुष म्याराथनमा अनिश थापामगर र महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ विजेता बनेका थिए ।
फाइल तस्बिर : गत वर्षका विजेता खेलाडी ।
