वार्तामा एन्फाको तर्फबाट महासचिव किरण राई र सीईओ इन्द्रमान तुलाधर सहभागी भएका थिए ।
काठमाडौँ — सहिद स्मारक लिग ‘ए’ डिभिजनका क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको वार्ता सोमबार भंग भएपछि नेपालको सर्वोच्च लिग आयोजना अझ अनिश्चित भएको छ ।
एन्फा र नेपाल फुटबल खेलाडी संघबीच अघिल्लो साता चैत ३० देखि ‘ए’ डिभिजन गर्ने सम्झौता भएपछि स्थिति थप नाजुक भएको हो । उक्त सम्झौता गर्ने क्रममा लिगमा सहभागी हुने क्लबहरूलाई नै बेवास्ता गरिएको थियो ।
त्यसकै विरोधमा सोमबार ‘ए’ डिभिजन क्लब सात बुँदे माग राखेर वार्तामा गएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको वार्तामा एन्फाको तर्फबाट महासचिव किरण राई र सीईओ इन्द्रमान तुलाधर सहभागी भएका थिए । त्यसक्रममा ‘ए’ डिभिजन क्लबका सहभागी हुने १४ मध्ये थ्रीस्टार वा एपीएफ कुन हुने हो, त्यसबारे आधिकारिक निर्णय दिन भनिएको थियो ।
एन्फाले त्यसबारे निर्णय दिन नसक्ने बताएको थियो । लगत्तै एन्फा र ‘ए’ डिभिजन क्लबबीच प्रतियोगिता आयोजना गर्न भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा पनि ठोस जवाफ आएको थिएन । यस्तोमा ‘ए’ डिभिजन क्लबले थप वार्तामा सहभागी हुन आवश्यक ठानेन । त्यस अगाडि ‘ए’ डिभिजन क्लबले पत्रकार सम्मेलन गर्दै सातबुँदे माग प्रस्तुत गरेको थियो ।
त्यसमा पहिलो माग नै एन्फा र ‘ए’ डिभिजन क्लबबीच प्रतियोगितालाई लिएर ०८२ को कात्तिक १७ गते भएको सम्झौता कार्यान्वयन रहेको थियो । यस्तै दोस्रो माग राष्ट्रिय लिग चालू रहेको स्थितिमा ‘ट्रान्सफर विन्डो’ खुला गर्नुपर्ने थियो । क्लबको तेस्रो माग विदेशी खेलाडीको ‘वर्क परमिट’ का लागि एकद्वार प्रणाली अबिलम्ब गरेर एन्फाले सहजीकरण गर्ने थियो ।
चौथो माग निश्चित १४ क्लबको सहभागिताबारे ठोस निर्णय गरेर पछि कानुनी अड्चन र लिगको वैधता कायम हो भन्ने थियो । पाँचौं मागमा लिगको आयोजनाका लागि खेलाडी संघसँग वार्ता गर्दा क्लबलाई बेवास्ता गरिएको हुनाले त्यसलाई सच्याउनुपर्ने थियो । अर्को मागमा राष्ट्रिय लिग समाप्तिपछि तयारीका लागि ३० दिन आवश्यक हुने सर्त राखिएको छ ।
सातौं तथा अन्तिम मागमा लिगमा सहभागी हुने क्लबसँग सहमति गरेपछि मात्र मिति तय गर्नुपर्ने भनिएको छ । पत्रकार सम्मेलनका अवसरमा एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘एन्फाले आज एउटा निर्णय गर्छ, सम्झौता गर्छ तर कार्यान्वयन भने गर्दैन । उल्टै आफूखुसी एकलौटी निर्णय गरिरहेको छ । यसले हामी सरोकारवाला आजित भइसकेका छौं ।’
