प्रधानमन्त्री कप : फाइनलमा ललितपुरले काठमाडौंसँग खेल्ने

राउन्ड रोबिन लिगको सोमबार भएको अन्तिम खेलमा ललितपुरले मकवानपुरलाई ९२ रनले हरायो ।

चैत्र ३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's Cup: Lalitpur to play Kathmandu in final

What you should know

काठमाडौँ —  

ललितपुर जिल्लाले काठमाडौंसँग प्रधानमन्त्री कप बागमती प्रदेश पुरुष क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनल खेल्ने भएको छ । राउन्ड रोबिन लिगको सोमबार भएको अन्तिम खेलमा ललितपुरले मकवानपुरलाई ९२ रनले हरायो । 

बागमती प्रदेशका ६ र त्रिभुवन विश्वविद्यालय (त्रिवि) गरी ७ टोलीले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल खेल्ने प्रावधान थियो । काठमाडौंले सबै ६ खेल जित्यो भने ललितपुरले ५ खेलमा जित र १ मा हारको नतिजा निकाल्यो । फाइनल मंगलबार हुनेछ । भक्तपुरले ४, चितवनले ३, मकवानपुरले २ र नुवाकोटले १ खेलमा जित पाएका थिए । त्रिविले ६ खेलमै पराजय भोग्यो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार विवेक रानामगरले अविजित १ सय ४९ रन बनाएपछि टस जितेको ललितपुरले निर्धारित ५० ओभरमा ४ विकेट गुमाई ३ सय ३७ रन बनायो । प्लेयर अफ द म्याच विवेकले ९० बलमा १३ चौका र १२ छक्का प्रहार गरे । उनले सचिन लेखकसँग चौथो विकेटमा १ सय ७९ रनको साझेदारी गरे । सचिनले ९० बलमा ७ चौकासहित ७१ रन बनाए । 

ओपनर रोनिम तिवारीले ६५ बलमा ५ चौका र १ छक्कासहित ६३ रन जोडे । आर्यनजंग क्षेत्री ५ र आदिल खान २३ रनमा आउट भए । मकवानपुरका रिजन ढकाल, तक्षक सिम्खडा र शुभ कंसाकारले १–१ विकेट लिए । 

शुभले ८६ रन बनाए पनि जवाफमा आएको मकवानपुर ३९.२ ओभरमा २ सय ४५ रनमै अलआउट भयो । शुभले ४९ बलमा ९ चौका र ५ छक्का प्रहार गरे । तक्षक ५२ बलमा ५ चौकासहित ३५, विशाल फुयाल २६, युविन बुढाथोकी २५ र गोकुल अधिकारी २० रनमा आउट भए । ललितपुरका सूर्य तामाङले ३ विकेट लिए । उनले ८.२ ओभरमा ५१ रन खर्चेका थिए । तिलकराज भण्डारी, विपिन आचार्य र विवेकले २–२ तथा सदित्य बञ्जाराले १ विकेट लिए । 

यसअघि नै फाइनल पुगिसकेको काठमाडौंले माथिल्लो मूलपानी क्रिकेट मैदानमा त्रिवि टिमलाई १ सय ८२ रनले हरायो । रित गौतमले १ सय ५८ रन बनाएपछि टस जितेको काठमाडौंले ७ विकेट गुमाई ३ सय ५२ रन बनायो । ओपनर रितले १ सय ४९ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । सोनु देवकोटा ५३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४९, उत्तम थापामगर ३६, प्रतिश जीसी २७ र सम्राट शाह १२ रनमा आउट भए । कप्तान इशान पाण्डेले १० बलमा २ चौका र ३ छक्कासहित अविजित ३२ रन बनाए । त्रिविका सुमित झाले ३ तथा दीनेश थापा, लोकेन्द्र तिमिल्सिना र सुरज तिरुवाले १–१ विकेट लिए ।

त्रिवि ३७.३ ओभरमा १ सय ७० रनमा अलआउट भयो । सुरजले ४४, नवीन रावलले ३४, अशोक सुनार र लोकेन्द्रले समान २४ तथा सन्जिव मानन्धरले अविजित १३ रन बनाए । काठमाडौंका सोनुले १० ओभरमा ५२ रन खर्चेर ४, दयानन्द मण्डलले १० ओभरमा ४३ रन खर्चेर ३ र इशानले १ विकेट लिए ।

भक्तपुरको सान्त्वना जित

भक्तपुरले सोमबारै चितवनलाई ६ विकेटले पराजित गर्‍यो । टस जितेको चितवन तल्लो मूलपानीमा ३२ ओभरमा १ सय १८ रनमा अलआउट भयो । कप्तान गौतम केसीले सर्वाधिक २१ रन बनाए । 

अर्या महतो र प्रतीक श्रेष्ठ समान १५, सुगम ढुंगाना १३, कृजन गुरुङ १२ तथा प्रशान्त महत र पवनबहादुर थापा समान १० रनमा आउट भए । दीपेश श्रेष्ठ ११ रनमा अविजित रहे । 

भक्तपुरबाट अविनाश बस्यालले ४ विकेट लिए । प्लेयर अफ द म्याच उनले १० ओभरमा ३० रनमात्र खर्चे । सक्रियप्रताप कार्की, सुवास खत्री र कप्तान क्रिस कार्कीले २–२ विकेट लिए । 

जवाफमा भक्तपुरले १८.४ ओभरमै १ सय २० रन बनायो । शिवम तिवारीले ३१, सौरभ साखकर्मीले २६, विशाल देवकोटाले अविजित २३, रिङजिन लामाले १३ र क्रिसले अविजित १२ रन जोडे । चितवनका दीपेशले २ तथा मन्दीप बराल र पवनले १–१ विकेट लिए ।

कान्तिपुर

Link copied successfully