आयोजकका अध्यक्ष धर्मकुमार श्रेष्ठ र बी एन्ड टीका प्रमुख कार्यकारी अधिकृत विष्णु गिरीले बुधबार प्रतियोगिता बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा त्यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
काठमाडौँ — नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ नेपालको आयोजनामा हुने नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितालाई बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) ले मुख्य प्रायोजन गर्ने भएको छ ।
आयोजकका अध्यक्ष धर्मकुमार श्रेष्ठ र बी एन्ड टीका प्रमुख कार्यकारी अधिकृत विष्णु गिरीले बुधबार प्रतियोगिता बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा त्यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बी एन्ड टीले आयोजकलाई २० लाख रुपैयाँ जापानी येन उपलब्ध गराउने छ ।
प्रतियोगितामा क्याडेट र जुनियर गरी ३५ स्पर्धा समावेश छन् । १८ वर्षमुनि क्याडेटको पुरुषमा ११ र महिलामा १० गरी २१ स्पर्धामा खेल हुनेछ । १८ देखि २१ वर्ष जुनियरको पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपालबाट प्रदेश, जिल्ला, क्लब, स्कुल र डोजोका खेलाडी सहभागी हुने छन् । विदेशी राष्ट्रमा भुटान र बंगलादेशका खेलाडीले भाग लिने छन् । तीन राष्ट्रबाट जम्मा ३ सय खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
