उपाधि जितेसँगै मंगलेश्वर युवा क्लबको टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
हेटौंडा — मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका–२ को मंगलेश्वर युवा क्लबले हात पारेको छ ।
खेलकुद कृषि तथा पर्यटन महोत्सव स्थलमा मंगलबार सम्पन्न फाइनल खेलमा हेटौंडा उपमहानगरपालिका–११ स्थित छहारी युवा समाजलाई ३–० को सोझो सेटले हराउँदै मंगलेश्वर युवा क्लबले उपाधि जितेको हो । प्रतियोगिताको आयोजना जिल्ला खेलकुद समितिले गरेको हो ।
छहारी युवा समाजलाई मंगलेश्वरले २७–२५, २५–२० र २५–१६ को सेटले पराजित गरेको हो । उपाधि जितेसँगै मंगलेश्वर युवा क्लबको टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता छहारी युवा समाजको टिमले ५० हजार रुपैयाँ र शिल्ड, मेडलमा चित्त बुझाउनुपरेको छ । सेमिफाइनलमा पुगेका २ टिम प्रतिभा साँस्कृति युवा क्लब बज्रबाराही र मनहरीको टिमले १५/१५ हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् । मकवानपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित मंगलेश्वरका कुशल लामाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट डिफेन्डर घोषित मङ्गलेश्वरकै विवेक कार्की, उत्कृष्ट स्पाइकर छहारी युवा समाजका पुजन गुरुङ, उत्कृष्ट सेटर मङ्गलेश्वर युवा क्लबका उत्सव आले मगर, उत्कृष्ट ब्लकर प्रवेश कार्की, उत्कृष्ट प्रशिक्षक छहारी युवा समाजका योगबहादुर लामा र उद्यान खेलाडी मनहरीका जोशन गौतमलाई २/२ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
