ललितपुर बागमती प्रदेश च्याम्पियन

शनिबार राउन्ड रोबिन लिगको खेलमा काठमाडौंले ललितपुरलाई ७९ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । तर, ललितपुरले त्यसको बदला लिँदै बागमती प्रदेश स्तरमा उपाधिमाथि ह्याट्रिक गरेको हो ।

चैत्र ३, २०८२

विनोद पाण्डे

Lalitpur Bagmati State Champion

What you should know

काठमाडौँ — ललितपुर जिल्लाले निकटतम प्रतिद्वन्द्वी काठमाडौंलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप बागमती प्रदेश पुरुष क्षेत्रीय क्रिकेट प्रतियोगिता जितेको छ । तल्लो मूलपानी मैदानमा मंगलबार सम्पन्न फाइनलमा ललितपुरले काठमाडौंलाई कुनै मौका नै दिएन ।

शनिबार राउन्ड रोबिन लिगको खेलमा काठमाडौंले ललितपुरलाई ७९ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । तर, ललितपुरले त्यसको बदला लिँदै बागमती प्रदेश स्तरमा उपाधिमाथि ह्याट्रिक गरेको हो । बागमतीका ६ र त्रिभुवन विश्वविद्यालय (त्रिवि) गरी सहभागी ७ टोलीले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेर शीर्ष दुईमा परेपछि यी दुई टोली फाइनल खेलेका थिए ।

टस जितेर ब्याटिङ रोजेको काठमाडौं ४८.४ ओभर खेल्दै २ सय १० रनमा अलआउट भयो । सूर्य तामाङ, विवेक रानामगर, सचिन लेखकले २–२ तथा पंकज पाण्डे र तिलकराज भण्डारीले १–१ विकेट लिएपछि काठमाडौं ठूलो स्कोर बनाउनबाट रोकियो ।

कप्तान इशान पाण्डेले काठमाडौंबाट सर्वाधिक ४४ रन बनाए । उनले ६० बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । सचिनले उनलाई स्टम्पआउट गरी ललितपुरलाई महत्त्वपूर्ण सफलता दिलाए । ओपनर रविन जोशी ५ रनमै आउट भए भने उनका ओपनिङ जोडी रित गौतमले ४२ रन जोडे । रित ६५ बलमा ४ चौका प्रहार गरे ।

Lalitpur Bagmati State Champion

सम्राट शाहले ५८ बलमा २ छक्कासहित २९, उत्तम थापामगरले ५, सोनु देवकोटाले ३७ बलमा २ छक्कासहित २३, प्रतिश जीसीले १६ बलमा २ चौका र १ छक्कासहित २२, उपेन्द्र खत्रीले १२, धिरज देउवाले २ र दयानन्द मण्डलले १ रन बनाए । सन्दीप पराजुली ४ रनमा अविजित रहे ।

विवेक र सचिनले अर्धशतक बनाएपछि ललितपुरले ३८.३ ओभरभित्रै लक्ष्य पूरा गर्‍यो । आशुतोष घिरैया १३, रोनिम तिवारी ३५ बलमा ४ चौका र १ छक्कासहित ३२ र आदिल खान १७ रनमा आउट भएपछि विवेक र सचिनले चौथो विकेटमा १ सय ४५ रनको साझेदारी गरे । स्कोर बराबर भएको समयमा ठूलो शट खेल्दा आउट भएका सचिनले ६३ रन बनाए । उनले ७७ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

Lalitpur Bagmati State Champion

प्लेयर अफ द फाइनल विवेकले ८० बलमा ५ चौका र २ छक्कासहित अविजित ७३ रन बनाए । कप्तान विपिन आचार्य १ रनमा अविजित रहे । काठमाडौंका सन्दीप पराजुलीले ७.३ ओभरमा २५ रन खर्चेर २ तथा इशान र धिरजले १–१ विकेट लिए ।

विवेक उत्कृष्ट ब्याटर र प्लेयर अफ द सिरिजमा चुनिए । उनले प्रतियोगिताभर ७ खेलमा ५ सय ७ रन बनाउनुका साथै १२ विकेट लिएका थिए । काठमाडौंका दयानन्द उत्कृष्ट बलरमा चुनिए । विजयी खेलाडीलाई बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्कालगायतले पुरस्कृत गरे ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully