डबल राउन्ड रोविनका आधारमा हुने लिगमा कुल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष ४ मा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
काठमाडौँ — केभीसी हाउन्ड्सले सोमबार हिमालयन जाभा नेसनल बास्केटबल लिग प्रतियोगितामा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हाउन्ड्सले रोयल स्पोर्ट्सलाई ७६–६४ स्कोरले पराजित गरेको थियो । हाउन्ड्सले पहिलो क्वाटरमा २४–१२ को अग्रता बनायो । दोस्रो क्वाटर २३–१६ ले आफ्नो पक्षमा पार्दै रोयलले खेलमा फर्कने संकेत गरेको थियो । तर, हाउन्ड्सले तेस्रो १७–१५ र चौथो क्वाटर १९–१४ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । लगातार ३ हारपछि पहिलो जित निकालेको हाउन्ड्सले ४ खेलबाट ५ अंक जोडेको छ ।
तेस्रो हार बेहोरेको रोयलले पनि ४ खेलबाट ५ अंक नै जोडेको छ । हाउन्ड्सका सौरभ श्रेष्ठले सर्वाधिक २१ स्कोर गरे । उनी प्लेयर अफ द म्याच घोषित भए ।
अघिल्लो दिन राति सम्पन्न खेलमा कीर्तिपुरले सोलो बास्केटबललाई ८४–७७ स्कोरले हरायो । लगातार दुई खेल जितेको सोलोको यो पहिलो हार हो । कीर्तिपुरका अनिल खड्गी प्लेयर अफ द म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउन्ड रोविनका आधारमा हुने लिगमा कुल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष ४ मा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
