सदीक्षा हिमालयन क्वीन्स च्याम्पियन

स्वीस लिग प्रणालीका आधारमा सात चरणमा सञ्चालित ब्लिट्ज चेस प्रतियोगितामा सोनालिका सर्राफले पनि सदीक्षा समान ६.५ अंक बनाइन् ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Sadiksha Himalayan Queens Champion

काठमाडौँ — अधिवक्ता सदीक्षा आचार्यले हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करणको उपाधि जितेकी छन् । उनले थापाथली चेस पार्कमा आइतबार सम्पन्न खेलमा अपराजित रहँदै ६.५ अंक बनाएर सफलता हात पारेकी हुन् ।

स्वीस लिग प्रणालीका आधारमा सात चरणमा सञ्चालित ब्लिट्ज चेस प्रतियोगितामा सोनालिका सर्राफले पनि सदीक्षा समान ६.५ अंक बनाइन् । बराबरी अंक भए पनि टाइब्रेकरका आधारमा सदीक्षाले उपाधि जितेकी हुन् । प्रिसियस अधिकारी र शुभश्री श्रेष्ठले पनि समान ६ अंक बनाए । तर, टाइब्रेकरका आधारमा अगाडि रहँदै प्रिसियस तेस्रो भइन् ।

प्रकृति न्यौपाने (५.५ अंक), अस्मिता दाहाल (५.५), मेघना अधिकारी (५) र आरती राई (५) ले शीर्ष आठमा रहँदै पदक हात पारे । त्यस्तै, यू–७ मा रुथ्वी सिंह (४ अंक), यू–१० मा संगीता दास (४.५), यू–१३ मा सुप्रिया खत्री (५), यू–१६ मा गृष्मा पौडेल (५) र ४० वर्षमाथि शिवांगी नाथ (५ अंक) पहिलो स्थानमा रहे ।

स्कुलतर्फको उपाधि मार्भलस इंग्लिस बोर्डिङले जित्यो । उसले शीर्ष तीन खेलाडीको मूल्यांकनका आधारमा आठ अंक बटुल्दै ट्रफी जितेको हो । ग्रिनल्यान्ड इन्टरनेसनल स्कुल पाँच अंकसहित उपविजेता भयो । श्री पञ्चकन्या आधारभूत विद्यालय चार अंक बनाएर तेस्रो स्थानमा रह्यो ।

विश्व बुद्धिचाल महासंघको फिडे वुमेन्स कमिसन फर चेसले मार्च महिनामा फिडे वुमेन्स चेस म्याराथन सञ्चालन गरिरहेको छ र त्यसैअन्तर्गत हिमालयन चेस एकेडेमीले नेपालमा हिमालयन क्वीन्स ग्याम्बिट आयोजना गरेको हो, जसमा ६ वर्षदेखि ४७ वर्षसम्मका १ सय ३ खेलाडी सहभागी थिए । रोयल सिंगी होटलमा शनिबार दोस्रो वार्षिकोत्सव मनाएको हिमालयन चेस एकेडेमीले क्वीन्स ग्याम्बिटसँगै क्लासिकल, र्‍यापिड, ब्लिट्ज र पजल सोल्भिङ गरी कुल १४ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ ।

विजेतालाई ट्रफी, मेडल तथा पुरस्कार हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिसा खम्बू, कोशी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राईलगायतले पुरस्कृत गरे । 

कान्तिपुर

Link copied successfully